Kathmandu Press

कालीप्रसादको ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक

काठमाडौं, असोज १२ : कवि तथा गीतकार कालीप्रसाद रिजालको सस्मरणात्मक जीवनकथा 'काँडामा हाँसेको जिन्दगी' सार्वजनिक भएको छ।

नेपालयले ....

कालीप्रसादको ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक

काठमाडौं, असोज १२ : कवि तथा गीतकार कालीप्रसाद रिजालको सस्मरणात्मक जीवनकथा 'काँडामा हाँसेको जिन्दगी' सार्वजनिक भएको छ।

नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम 'पलेँटी'को सांगीतिक माहोलमा रिजालको नयाँ पुस्तक विमोचन भएको हो। साहित्यकार रिजालले दर्शक दीर्घामा उपस्थित मध्ये आफ्नी नातिनी अपूर्वालाई पुस्तक उपहार दिएर कृति सार्वजनिक गरेका थिए । 

Hardik ivf

नेपाली सांगीतिक र साहित्यिक जगतमा अलग्गै उचाइ हासिल गरेका कालीप्रसाद लामो समय सरकारी सेवामा कार्यरत रहे। वि.सं. १९९६ विराटनगरमा जन्मेका रिजालले 'काँडामा हाँसेको जिन्दगी'मा उसबेलाको विकट नेपाल र आफ्नो व्यक्तिगत जीवनयात्रालाई समेटेका छन्। 
 
शनिबारको पलेँटीमा रिजालले भोगेको त्यही समय र उनको गीति तथा कविता यात्राको चर्चा भएको थियो। कार्यक्रममा उनले रचना गरेका आठवटा गीतहरू प्रस्तुत भएका थिए। सांगीतिक माहोलमा साहित्यिक चर्चा समेटिएकोले नेपालयको ‘आर’शालाले नियमित पलेँटीभन्दा फरक परिवेशको झल्को दिइरहेथ्यो। 

कार्यक्रमको शुरुवात रिजालको शब्दमा नारायण गोपालले गाएको गीत ‘केही मीठो बात गर’बाट भएको थियो। सँधै नारायण गोपालको स्वरमा सुनेको गीत गायिका मीना निरौलाले गायिकी थिइन्। दोस्रो प्रस्तुति पनि नारायण गोपालकै स्वरमा प्रसिद्ध बनेको गीत थियो। ‘यसैगरि बिताइदिन्छु दुईदिनको जिन्दगी’ बोलको गीतलाई योगेन्द्र उपाध्यायले गाएर सुनाएका थिए। रिजालसँग गीत संगीतका प्रसंगसँगै नारायण गोपालसितको संगतको चर्चा शुरु भएपछि कार्यक्रमले झन् रोचक मोड लिएको थियो।

यसपछि कार्यक्रमले दोस्रो मोड लियो। यो मोडमा काली प्रसाद रिजालको प्रभावशाली कविता वाचन आरम्भ भयो। आफू सरकारी ओहोदामा हुँदा नेपालको पश्चिमी बादीबस्तीमा पुगेको कारुणिक सस्मरणसँगै रिजालले ‘हामरी बिटियाको नत्था तोडिदिनुहोस्’ सुनाए। देह व्यापारको विवश दृश्य अंकित उनको कविताले दर्शकका आँखा रसाइरहेका देखिन्थे। रिजालको कविता वाचन सुन्दा यस्तो लाग्थ्यो उनीको आवाजमा बादीबस्तीकै बूढी महिला गुञ्जिरहेकी छन्। लाग्थ्यो( कालीप्रसाद कविता वाचनमार्फत् स्वरको कुशल अभिनय गरिरहेछन्। रिजालले सुनाएका सबै कवितामा उनको वाचन शैलीको मौलिकता झल्कन्थ्यो।

 उनले नातिनीमार्फत् नयाँ पुस्तामा आफ्नो कथा पुगोस् भन्ने धेयले विमोचनको यस्तो शैली अपनाएको प्रष्ट्याए। पुस्तक विमोचन कार्यक्रम नेपालय पब्लिकेसन्स र पलेँटीको संयुक्त आयोजनामा भएको थियो। नेपालय पब्लिकेसन्सले बजारमा ल्याएको पुस्तक सार्वजनिक भएसँगै साहित्यकार रिजालले रचेको गीत ‘झर्‍यो जिन्दगी, टुट्यो जिन्दगी’ प्रस्तुत भएको थियो। पुस्तको शीर्षक नारायण गोपालले गाएको त्यसै गीतको अन्तराबाट लिइएको हो।

कार्यक्रमको अन्तिम चरण सांगीतिक प्रस्तुति र कविता वाचन हुँदै अघि बढेको थियो । रिजालले वाचन गरेको पजेरो सम्बन्धि कविताले नेपाली राजनीतिको सुविधाभोगी प्रवृत्तिमाथि व्यंग्य गरेको थियो।  कार्यक्रममा प्रस्तुत भएका पुराना गीतमा नारायण गोपालका संगीतलाई मात्र समेटिएको थियो। पछिल्लो चरणमा प्रस्तुत रिजालका दुईवटा नयाँ रचनामा भने संगीतकार आभासले धुन भरेका थिए। ती दुई रचना मध्ये शहरसँग सम्बन्धित ‘यतै घर उतै घर जता हेर्‍यो घरैघर, यो शहरमा ओत लाग्ने ठाउँ छैन कतै तर’ गीत र ‘कति खाली च्याउँछ्यौ सँधै भित्रबाट’ गजल शैलीका रचना थिए।
 

प्रकाशित मिति: १८:१० बजे, आइतबार, असोज १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्