Kathmandu Press

बेइजिङलगायत शहरमा उडान भर्दै हिमालय एयरलाइन्स

काठमाडाैं, असोज १२ : नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक महिनादेखि चीनक....

बेइजिङलगायत शहरमा उडान भर्दै हिमालय एयरलाइन्स
फाइल

काठमाडाैं, असोज १२ : नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने भएको छ।

चीनका गन्तव्यमा उडान भर्नका लागि लामो समयदेखि प्रयासरत कम्पनीले बेइजिङ, चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गर्ने तयारी गरेको हो। चीनसँग सञ्जाल विकास गर्ने लक्ष्यका साथ हिमालयले बेइजिङमा पहिलो उडान शुरुवात गर्ने र क्रमशः अन्य गन्तव्यमा उडान भर्नेछ।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार आगामी कात्तिक १० देखि बेइजिङस्थित नवनिर्मित डाक्सिन इनटरनेशनल विमानस्थलमा हिमालयले उडान शुरु गर्नेछ। विश्वकै आधुनिक सुविधायुक्त यो विमानस्थल हालै मात्र औपचारिकरूपमा सञ्चालनमा आएको हो। उक्त विमानस्थलमा उडानका लागि ‘स्लट’ पाइसकेको कम्पनीले जनाएको छ। 

बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्त भएका कारण नेपाली वायुसेवा प्रदायक कम्पनीले उक्त विमानस्थलमा स्लट पाउन सकेका थिएनन्। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पनि छिट्टै बेइजिङ उडान भर्ने तयारी गरेको छ । यद्यपि अहिलेसम्म उसले स्लट पाएको छैन। चिनियाँ प्राविधिक टोलीले निगमको ‘अडिट’ गरेपछि मात्र अनुमति पाउने बताइएको छ। चीनका विभिन्न गन्तव्यमा सिधा उडानबाट नेपाल भम्रण वर्षका सन्र्दभमा बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने कम्पनीले उल्लेख गरेको छ।

त्यसैगरी हिमालयले आगामी कात्तिक महिनादेखि नै मलेशियाको राजधानी क्वालालम्पुरमा पुनः उडान गर्ने भएको छ। यो गन्तव्यमा प्रवेशाज्ञा प्रक्रियाको झन्झटले एक वर्ष अघिदेखि उडान रोकिएको थियो। कम्पनीको सेवा सुधार शाखा प्रमुख उज्ज्वला दलीले क्वालालम्पुर राम्रो स्रोत बजार भएकाले आगामी कात्तिक १० देखि सो गन्तव्यमा उडान शुरु गरिने बताए।

कम्पनीले यात्रुको सुरक्षा, सेवामा सुदृढीकरण, सामूहिकता तथा आतिथ्य सत्कारलाई प्राथमिकता दिएको उनले बताए।  पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले विश्व हवाई बजारमा हिमालय उदाउँदो कम्पनी भएकाले यसको गन्तव्य विस्तारसँगै सेवा स्तरीकरणमा विशेष ध्यान दिइने उल्लेख गरे। उनले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सन्दर्भमा हिमालयले धेरैभन्दा धेरै पर्यटक भित्र्याएर नपालको अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे। 

हिमालयले चीनलगायत गन्तव्यमा उडान थप गर्ने योजनासँगै जहाजको सङ्ख्या थप्ने प्रक्रियासमेत अघि बढाएको बुझिएको छ। कम्पनीको यही असोज महिनाभित्रै २८ सिट क्षमताको एयरबस ३१९ भाडामा ल्याउने तयारी छ। हिमालयले गत जेठ ३ गते भियतनामको ब्याम्बो एयरलाई भाडामा दिएको जहाज पनि फिर्ता ल्याउन लागेको छ। कम्पनीले छ महीनाका लागि जहाज भाडामा दिएको थियो।

गत साउन ६ गतेबाट बङ्गलादेशको ढाकामा पनि उडान शुरु गरेको हिमालयले आगामी वर्षभित्र पाँच वटा जहाजले उडान गर्ने योजना बनाएको छ। अर्को वर्ष पनि नयाँ जहाज भाडामा ल्याउने एयरबससँग सम्झौता भइसकेको छ। एअरलाइन्सले मध्यपूर्वी एशियाका गन्तव्य दोहा, दुबई/आबुधावी र दमाम ९साउदी अरेबिया० मा उडान गरिरहेको छ।

सन् २०१४ अगस्टमा स्थापित एयरलाइन्सले आफ्नो पाँच वर्षको अवधिमा तीनवटा न्यारोबडी ए–३२० जहाजमार्फत हाल पाँच गन्तव्य अबुधाबी, दमाम, दोहा, ढाका र क्वालालम्पुर ९बिचमा रोकिएको० मा उडान भर्दै आएको छ। आठ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए–३२०–२१४ सिरिजका जहाजले उडान गरिरहेको हिमालयले निकट भविष्यमा ल्हासा जस्ता उच्च स्थानमा उडान भर्नका निम्ति थप दुई थान ए–३१९ सिरिजका जहाज खरीद गर्ने योजना बनाएको छ। एशियाली मुलुकमा सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ हिमालयले हालै युएईको आबुधाबी र बङ्गलादेशको ढाकालाई आफ्नो सञ्जालमा जोडेको छ।

प्रकाशित मिति: १७:१३ बजे, आइतबार, असोज १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्