निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिता राजपत्रमा प्रकाशित
काठमाडाैं, चैत ३ : आगामी स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहित बिहीबार राजपत्रमा प्रकाशित भएको छ। बिहीबार आयोगले गरेको नियमित...
काठमाडाैं, चैत ३ : आगामी स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहित बिहीबार राजपत्रमा प्रकाशित भएको छ।
बिहीबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तहको आउँदो निर्वाचनमा उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने सहितको आचारसंहिता प्रकाशित भएको जानकारी दिए।
त्यस्तै उम्मेद्वार बन्न चाहने जनप्रतिनिधिको बेरुजु लगाएत फछ्यौट हुनुपर्ने उनले बताए। स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिएमा सो स्थानमा अन्यले जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको पनि पौडेलले बताए।
उनले आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुने जानकारी दिए। त्यस्तै आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलका उम्मेद्वारलाई सोहि दलको निर्वाचन चिन्ह दिन उपयुक्त निर्णय गर्ने सम्बन्धमा राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ दललाई जिल्ला स्तरको संगठन संरचनाको बिबरण चैत्र ६ गतेभित्र पेश गर्न पनि पत्रचार गरेको छ।
त्यस्तै आगामी निर्वाचनका लागि काममा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाको सामूहिक दुर्घटना बीमा गर्न बीमा संस्थानसंग सम्झौता गरिएको प्रवक्ता पौडेलले बताए।
त्यस्तै स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली, मतदाता परिचयपत्र लगाएतका निर्वाचन सामाग्रीहरु छपाइका लागि ६ वटा प्याकेजमा इबिडिङका माध्यमबाट खरिद गर्न बोलपत्रको सूचना प्रकाशन भएको आयोगले जनाएको छ।











