पलेँटीबाट सार्वजनिक भयो कवि तीर्थ श्रेष्ठको 'धर्सैधर्साको चक्रव्यूह'
काठमाडौं, असोज ११ : कवि तीर्थ श्रेष्ठले आफ्ना नयाँ कविताहरूको सँग्रह 'धर्सैधर्साको चक्रव्यूह' सार्वजनिक गरेका छन्। नेपालयले संचालन गर्दै आएको ....

काठमाडौं, असोज ११ : कवि तीर्थ श्रेष्ठले आफ्ना नयाँ कविताहरूको सँग्रह 'धर्सैधर्साको चक्रव्यूह' सार्वजनिक गरेका छन्। नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम 'पलेँटी'को सांगीतिक माहोलमा शुक्रबार साँझ श्रेष्ठको नयाँ पुस्तक विमोचन भएको हो।
कुनै बेला तरलवादको नामले चिनिएको साहित्यीक अभियानमा लागेका कवि तीर्थ श्रेष्ठ गीतकारका रुपमा पनि परिचित छन्। यसपालीको पलेँटी कवि श्रेष्ठको गीत तथा कविता लेखनको बारेमा केन्द्रीत भएको थियो। कार्यक्रममा उनले रचना गरेका आधा दर्जन गीतहरू प्रस्तुत भएका थिए। संगीत र साहित्यको संगमले गर्दा उनको पुस्तक विमोचन कार्यक्रम चलनचल्तिका पुस्तक विमोचनभन्दा पृतक देखिन्थ्यो।
कार्यक्रमको शुरुवात कवि तीर्थको जन्मभूमीसँग सम्बन्धित गीतबाट भएको थियो। कार्यक्रमको दोस्रो प्रस्तुतिमा कवि तीर्थको चर्चित कविता 'नाम' सुनाइएको थियो। 'हामीले लेखेर आएका छौं, हिउँमा आ-आफ्ना नामहरू'लाई संगीतकार आभासले धुन भरेका हुन्। गीत संगीतका प्रसंगमा गीतकार तीर्थ र पलेँटी संचालक आभास रोचक संवादका साथ प्रस्तुत भएका थिए। तेस्रो गीत पनि आभासकै धुनको 'तिमी मात्र आफ्नो भयौ' रहेको थियो।
तीन चरणमा विभाजन गरिएको कार्यक्रमको दोस्रो चरणमा कवि तीर्थ श्रेष्ठले आफ्ना पूर्व प्रकाशित कविताहरू सुनाएका थिए। उनले कविता सुनाउने क्रममा तिनको रचनागर्भको पनि चर्चा गरेका थिए। उनले 'लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु' र 'बाघ' जस्ता चर्चित कविता सुनाउँदा दर्शकहरूले बजाएको तालीबाट उनका कविताको सम्प्रेण अनुमान गर्न सिकन्थ्यो।
पुराना कविता वाचनको लगत्तै कवि तीर्थको नयाँ कवितासँग्रह 'धर्सैधर्साको चक्रव्यूह' र उनको सम्पूर्ण काव्यिक व्यक्तित्वमाथि निवन्धकार रोशन शेरचनले मन्तव्य व्यक्त गरेका थिए। 'तीर्थ श्रेष्ठ अथवा तीर्थ दाइ सरल भाषामा गहिरो कुरा भन्ने सामर्थ्य भएका कवि हुनुहुन्छ' निबन्धकार रोशनले टिप्पणीका क्रममा भने,'तीर्थ श्रेष्ठका कवितामा रहेको जीवन दर्शनले हाम्रो भित्री मनलाई सहजै स्पर्श गर्छ। तीर्थ दाइको नयाँ संग्रहमा पनि त्यत्तिकै गम्भीर भावका सरल कविताहरू संकलित छन्। म उहाँलाई शुभकामना व्यक्त गर्छु।'
साहित्यकार रोशनले 'धर्सैधर्साको चक्रव्यूह'मा संग्रहित ‘निर्वाणको यात्रा’ कविता वाचनका साथ आफ्नो मन्तव्य टुंग्याएका थिए। त्यसपछि 'धर्सैधर्साको चक्रव्यूह' सार्वजनिक गरिएको थियो। कवि तीर्थले दर्शक दीर्घामा उपस्थित मध्ये आफ्ना अग्रज कलाकार दुर्गा बराल ‘वात्सायन’लाई पुस्तक उपहार दिएर कृति सार्वजनिक भएको उद्घोष गरेका थिए। विमोचनकै क्रममा कवि तीर्थले भन्दै थिए- ‘आजै दिउँसो राष्ट्रकवि आदरणीय माधव घिमिरेका हातमा पनि यही पुस्तक उपहार दिने अवसर पाएको थिएँ। त्यो पुस्तक विमोचनको प्रथम चरण थियो। अहिले दुर्गा दाइलाई पुस्तक हातमा सुम्पने अवसर पाएँ। पुस्तक लोकार्पणका यी क्षण मेरो जीवनकै अविस्मरणीय क्षणहरू हुन्।' कवि तीर्थको नयाँ कवितासँग्रहमा चित्रकार दुर्गा बरालले कोरेका रेखाचित्रहरू प्रयोग भएका छन्।
पुस्तक विमोचन कार्यक्रम नेपालय पब्लिकेसन्स र पलेँटीको सहकार्यमा भएको थियो। कवि तीर्थको नयाँ कवितासँग्रहमा उनका १०८ वटा कविताहरू संलग्न रहेका छन्। पब्लिकेसन्स नेपालयले बजारमा ल्याएको पुस्तक सार्वजनिक भएसँगै कवि तीर्थले सँग्रहमा संकलित कविता मध्येबाट केही कविताहरू वाचन गरेर सुनाए। उनले सुनाएका कविताले प्रेम, समाज र प्रकृतिलाई समेटेका थिए।
कार्यक्रमको अन्तिम चरण फेरि सांगीतिक प्रस्तुतितर्फ मोडिएको थियो। तीर्थ श्रेष्ठका केही गीतहरूलाई संगीतकार आभासकै धुनमा गायक फत्तेमानले गाएका छन्। ‘फेरि आए सम्झनाका दिनहरू’ बोलको गीतसँगै तीर्थले गीतका मूल गायक फत्तेमानसँग बिताएका क्षणहरूको सम्झना गरेका थिए। पोखरेली संगीतकार सुमन श्रापितले धुन भरेको ‘पाइला पाइला’पछि ‘रातको सपना बाँकी हुन्न बिहानीमा उठ्दा’बाट कार्यक्रम समापन भएको थियो। कार्यक्रमको अन्तिम गीत गायक फत्तेमानकै स्वरमा रेकर्ड भएको गीत थियो। यो गीतमा समाजमा रहेको छुवाछुतप्रति कटाक्ष अंकित छ।
तीर्थ श्रेष्ठको पलेँटीमा प्रस्तुत भएका सबै गीतलाई मीना निरौला र योगेन्द्र उपाध्यायले स्वर दिएका थिए। वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, प्रकसनमा सुन्दरकुमार महर्जन र गीटारमा सुरज प्रधान रहेका थिए।












