Kathmandu Press

होलीमा ट्राफिक व्यवस्थापन : उपत्यकाका ६८ स्थानमा चेकजाँच, १३ सय ट्राफिक प्रहरी परिचालन

बिहानैदेखि डिएसपीको नेतृत्वमा अनुगमन टोली र १४ वटा मोबाइल टोली परिचालन गरिने
होलीमा ट्राफिक व्यवस्थापन : उपत्यकाका ६८ स्थानमा चेकजाँच, १३ सय ट्राफिक प्रहरी परिचालन
Hardik ivfHardik ivf

काठमाडौं, चैत २ : काठमाडौं उपत्यकामा होली पर्वलाई सुरक्षित र मर्यादित बनाउनका लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले विशेष योजना बनाएको छ। होलीमा उच्छृंखल र अवान्छित तरिकाले सवारी साधन चलाउने, सवारी नियमको उल्लंघन गर्नेजस्ता गतिविधि बढ्ने भएका कारण महाशाखाले विशेष योजना बनाएर जनशक्ति परिचालन गर्न लागेको हो। 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले बुधबार सबै ट्राफिक इकाई तथा इन्चार्जहरुलाई  होलिको दिन ट्राफिक व्यवस्थापनमा कडाई गर्न निर्देशन दिएका छन्। 

महाशाखामा एक विशेष कार्यक्रमबीच एसएसपी जोशीले होलीको समयमा हुने अवान्छित गतिविधि र सवारी दुर्घटना हुन नदिन ट्राफिक  नियम कडाईका साथ लागु गर्न निर्देशन दिए । 

६८ स्थानमा चेकिङ, १३ सय ट्राफिक परिचालन

होलीमा अवान्छित तवरबाट सवारी चलाउने प्रवृत्तीलाई निरुत्साहित गर्नका लागि उपत्यकाका विभिन्न ६८ स्थानमा चेकिङ गर्ने व्यवस्था गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) संजीव शर्मा दासले जानकारी दिएका छन्। 

उनले मुख्य सडकमा मात्र नभई भित्रि सडकमा पनि ट्राफिक प्रहरी परिचालन गरिने जानकारी दिएका छन्। ‘मुख्य सडकको चेकिङ छल्नका लागि भित्रि बाटो हुँदै नियमविपरित सवारी चलाउने प्रवृत्ती देखिन्छ, यसलाई रोक्न भित्रि सडकमा पनि ट्राफिक प्रहरीको बाक्लो उपस्थिती हुनेगरी व्यवस्था गरिएको छ,’ उनले भने। 

त्यसका लागि १ हजार ३ सय ट्राफिक परिचालन हुने उनले बताए। 

डिएसपीको नेतृत्वमा अनुगमन टोली

एसपी दासले ट्राफिक चेकिङको अवस्था बुझ्न र अनुगमन गर्नका लागि डिएसपीको नेतृत्वमा दुई टोली परिचालन गरिने बताएका छन्। उक्त टोलीले विभिन्न स्थानमा भइरहेको ट्राफिक चेकिङको अनुगमन गर्नेछ।

‘चेकपोइन्टमा बसेका ट्राफिक प्रहरीले जिम्मेवारी अनुसारको काम गरेका छन् कि छैनन्, सवारी चेकजाँचमा कत्तिको कडाई गरेका छन् भन्ने विषयमा डिएसपीको नेतृत्वमा रहेको टोलीले अनुगमन गर्छ,’ एसपी दासले भने, ‘अनुगमन टोलीले जिम्मेवारीपूर्वक काम गरेका छन् कि छैनन् भन्ने कुराको अनुगमन गर्न म आफै फिल्डमा जान्छु।’

उपत्यकामा सवारीको अवस्थाका बारेमा  जानकारी र सर्कुलर गर्न र १४ वटा मोबाइल टोली बनाइएको छ। त्यस्तै सवारी साधन अभिलेख व्यवस्थापन टोलीलाई पनि बिहानैदेखि परिचालन गरिने एसपी दासले जानकारी दिए। 

एसपी दासले उच्छृंखल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि मोटरसाइकल हुइक्याउने, हेलमेट नलगाउने, मोटरसाइकलमा तीन जनाभन्दा बढी सवारी राख्ने, सवारी साधनको प्रयोग गरी महिलाहरुलाई लक्षित गरी रङ र लोला हान्ने तथा अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) माथि विशेष निगरानी राख्ने बताए। 

ट्राफिक नियमविपरित सवारी चलाउनेलाई सवारी नियमानुसार कारवाही गरिने एसपी दासले बताए। 
 

प्रकाशित मिति: १६:१७ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्