झुटो आश्वासन देखाएर नेपालीलाई युएइमा लैजाने र अलपत्र पार्नेलाई कारवाही गर्छौँ : श्रममन्त्री
काठमाडौं, चैत २ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसानकुमार श्रेष्ठले विदेशमा नेपाली नागरिकलाई ठग्नेलाई कारवाही गर्ने बताएका छन्। झुटो आश्वासन, रोजगारीको प्रलोभन र कानुनी...
काठमाडौं, चैत २ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसानकुमार श्रेष्ठले विदेशमा नेपाली नागरिकलाई ठग्नेलाई कारवाही गर्ने बताएका छन्।
झुटो आश्वासन, रोजगारीको प्रलोभन र कानुनी प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएइ पुर्याउने र अलपत्र पार्ने कार्यमा संलग्न व्यक्तिहरुलाई इन्टरपोलको सहयोगमा नेपाल झिकाउने तयारी भएको बताएका हुन्।
युएइ भ्रमणमा रहेका मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दुतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्दै गैरकानुनी ढंगबाट काम गर्ने नेपालीहरु विदेशी भुमिमा पनि नजोगिने बताएका छन्।
उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारवाहीको दायरामा ल्याउन लागिएको बताए। नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सजिलो होस् भनेर आफ्नो भ्रमण टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका डिएसपीलाई पनि सहभागि गराएको उनले बताए।
कार्यक्रममा मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न आफूले युएई सरकारसँग पनि आग्रह गरेको बताए।











