टाङ्गिया बस्तीमा दुई महिनाभित्र बिजुली बाल्ने ऊर्जामन्त्रीको प्रतिबद्धता
बारा, चैत २ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई महिनाभित्र जीतपुर सिमरा उपमहानगरपालिका–१६, टाङ्गिया बस्तीका जनतालाई बिजुली उपलब्ध गराउने बताएकी...बारा, चैत २ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई महिनाभित्र जीतपुर सिमरा उपमहानगरपालिका–१६, टाङ्गिया बस्तीका जनतालाई बिजुली उपलब्ध गराउने बताएकी छन्।
आफूले मन्त्रालय सम्हालेलगत्तै टाङ्गिया बस्तीका जनता बिजुली बत्तीको माग लिएर मन्त्रालय आएको स्मरण गर्दै उनले जनताका माग सम्बोधन गर्ने बचनअनुसार नै निर्णय गरेर कार्यान्वनको चरणमा रहेको बताइन्।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि त्यहाँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने कारण देखाउँदै टाङ्गिया बस्तीमा विद्युतीकरण हुनसकेको थिएन। विमानस्थल बन्ने अवस्थामा यहाँका बासिन्दासँगै विद्युतीकरणका संरचना सार्ने गरी विद्युतीकरण गर्न लागिएको हो।
वर्षौँदेखि अन्धकारमा बस्नुपर्ने बाध्यता रहेका यहाँका जनताले बिजुलीको उज्यालोमा बस्न पाउनुपर्नेमा आफू प्रतिबद्ध रहेको मन्त्री भुसालको भनाइ छ। नवलपुरको सबस्टेशन उद्घाटका लागि सर्लाही जाँदा मन्त्री भुसाल मङ्गलबार टाङ्गिया बस्तीमा समेत पुगेकी छन्।
उनले यहाँका जनताका घरमा चाँडै बिजुलीको उज्याले पुग्ने प्रतिबद्धता व्यक्त गर्दै बिजुलीको उज्यालोमा बस्न पाउनु जनताको मौलिक अधिकार भएको बताइन्।
टाङ्गिया बस्तीमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणले टेन्डर गरीसकेको उनले बताइन्। 'यहाँका जनताले अब बढीमा दुई महिनाभित्र राष्ट्रिय प्रशारण लाइनको बिजुली बाल्न पाउनेछन्,' उनले भनिन्।
टाङ्गिया बस्तीका करिब एक हजार ५०० घरधुरीको विद्युतीकरणका लागि दुई करोड ६० लाख बजेट विनियोजन गरिएको छ। मन्त्री भुसालले बजेट अपुग भएमा थप रकमको व्यवस्था गरेर भए पनि विद्युतीकरण कार्यक्रम पूरा गर्ने विश्वास दिलाइन्।











