Kathmandu Press

इन्द्रावती गाउँपालिकाको उदाहरणीय कार्य

सिन्धुपाल्चोक, १ चैत : देश सङ्घीयतामा गएपछि सिन्धुपाल्चोकका नागरिकले घरदैलोमै  सरकार पुगेको अनुभुति गरेका छन् । कतिपय स्थानीय तहले उदाहरणीय काम गरेर देखाएका पछि...
इन्द्रावती गाउँपालिकाको उदाहरणीय कार्य
Hardik ivf

सिन्धुपाल्चोक, १ चैत : देश सङ्घीयतामा गएपछि सिन्धुपाल्चोकका नागरिकले घरदैलोमै  सरकार पुगेको अनुभुति गरेका छन् । कतिपय स्थानीय तहले उदाहरणीय काम गरेर देखाएका पछि छन्। तीमध्ये इन्द्रावती गाउँपालिका एउटा उदाहरणीय  स्थानीय तह बन्न पुगेको छ ।उक्त गाउँपालिकाले जनभावनाअनुसार विभिन्न योजना तथा परियोजना सञ्चालन गर्दै आएको गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए। गाउँपालिकाको कार्यपालिकामा आफ्नो अल्पमत भए पनि हालसम्म कुनै पनि विषयमा अवरोध सिर्जना नभएको आम नागरिकको मागअनुसार नै योजनाबद्व तरिकाले पालिकाले विकास र निर्माणका काम गर्दै आएको उनको भनाइ थियो । 
 
हालसम्म सबै वडाका टोलटोलमा मोटर बाटो खन्ने, स्तरोन्नति गर्ने र कालोपत्रे गर्ने काम भइरहेकोे छ । विद्यतीकरणअन्तर्गत पालिका काठेपोल मुक्त गाउँपालिका घोषणाको अन्तिम तयारीमा छ भने पालिकाभित्र बसोबास गर्ने करिब २८ हजार भन्दाबढी नागरिकलाई स्वच्छ खानेपानी खाने उपलब्ध गराउन लागिएको छ। 
 
स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम भएको र गाउँपालिकाको प्रशासनिक भवनले उत्तिकै चर्चा पाइरहेको छ। प्यागोडाशैलीमा निर्माण गरिएको  भवन सामाजिक सञ्जालका साथै विभिन्न सञ्चारमाध्यममा चर्चाको विषय बनेको हो । यसैगरी सबै वडा कार्यालयको भवन निर्माण भएर  सेवा प्रवाह पनि हुन थालेको छ। 
 
खेलकुदको विकासका लागि सबै वडामा एक वडा एक खेल मैदानको अवधारणा ल्याई सबै वडावासीले आफ्नै वडाको मैदानमा खेल्ने अवसर उपलब्ध गराउन केही वडामा खेल मैदान निर्माण भइसकेका र केही वडामा निर्माणको अन्तिम चरणमा पुगेको छ।
 
गाउँमै सुविधासम्पन्न अस्पताल
 
गाउँपालिकामा एउटा व्यवस्थित अस्पताल नहुँदा स्थानीयवासीले स्वास्थ्यचौकीभन्दा माथिल्लो सेवा पाउन चौतारा, धुलिखेल या मेलम्ची पुग्नुपथ्र्यो । गाउँपालिकाले चार वर्षपछि इन्द्रावती गाउँपालिका–४ कै नवलपुर बजारमा १५ शय्याको अस्पताल निर्माण गरेपछि यो समस्या समाधान भएकाले स्थानीयवासी उत्साहित भएका छन्।अस्पताल निर्माण पछि एक्सरे, रगत तथा स्वास्थ्य परीक्षण र औषधि खरिदका लागि चौतारा धाउनुपर्ने बाध्यता अन्त भएको छ ।पाँच करोड ५१ लाखको  लगानीमा न्यु ड्रागइन पवित्र मल्टिपल डेभिड कम्पनीले तीन रोपनी जमिनमा बनाएको अस्पतालमा ३५ कोठा र १५ बेड छ।   
     
आकर्षक गाउँपालिका भवन
 
गाउँपालिकाले आकर्षक गाउँपालिका भवन बनाएको छ । सबैजसो पालिकाको भवन सामान्य या आधुनिक शैलीमा निर्माण गरिए पनि यहाँ भने पुरातात्विक प्यागोडा शैलीमा भवन बनाइएको हो। सुनकोसी अर्थात् थकाह्युल्साको  किराँतकालीन राज्यको इतिहास भएकाले पालिकाको भवन बनाउँदा पुरानै शैली अपनाइएको गाँउपालीकाका प्रमुख इन्जिनियर राजाराम घोरसैनीले बताए।
 
६ करोड ५१ लाखको  लागतमा बनेको सो भवन स्वराज–टक्सार जेभीले १८ महिनामा निर्माण गरेको र भवनमा प्रविधिमैत्री कक्ष, हेल्प डेस्क, बैठक कक्ष र पदाधिकारीका लागि छुट्टाछुट्टै कार्यकक्ष छन् ।जिल्लामा तीन वटा नगर र नौ वटा गाउँपालिका छन्। हालसम्म इन्द्रावतीसहित मेलम्ची, बाह्रबिसे र चौतारा साँगाचोकगढी नगरपालिका तथा लिशङ्खुपाखर, पाँचपोखरी थाङपाल, जुगल गाउँपालिकाले कार्यालय भवन निर्माण भइसकेका छन् । भोटेकोसी, बलेफी, त्रिपुरासुन्दरी, हेलम्बु गाउँपालिकाले भने केन्द्र निश्चित गरेर भवन बनाउँदै छन्।
 
प्रत्येक घरमा खानेपानी पु¥याइने 
 
गाउँपालिकामा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान हुने भएको छ । पालिकाको वडा नं ४ देखि १२  सम्मका सबै बस्तीलाई समेटेर खानेपानी वितरण गर्न इन्द्रावती बृहत् खानेपानी आयोजना सुरू भएपश्चात् खानेपानीको समस्या समाधान हुने भएको हो।
 
उक्त आयोजनाका लागि हेटौँडास्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले बोलपत्र आह्वान गरेर काम सुरू गरेको छ । सो आयोजना रु  २० करोडभन्दा माथिको लगानीमा निर्माण थालिएको हो । उक्त आयोजनाबाट १३ हजारभन्दा बढी जनता लाभान्वित हुने र तोकिएको समयावधि अघि नै काम सम्पन्न हुने  इन्जिनियर घोरसैनीले बताए। 
 
वडा नम्बर १ मा मुहान रहेको खानेपानी आफ्नो गाउँसम्म आउने भएपछि स्थानीयवासी खुसी भएका वडा नम्बर ५ निवासी  सुनिल भट्टराईले बताए।
 
भृकुटी पार्क
 
गाउँपालिकामा भूकम्प स्मारक  भृकुटी शान्ति पर्क निर्माण गर्न लागिएको छ । गाउँपालिकाका अध्यक्ष तामाङले उक्त पार्क शिलान्यासका अवसरमा यस गाउँपालिकालाई ऐतिहासिक रुपमा चिनाउनु नै गाउँपालिकाको पहिचान भएको बताए। यस्ता संरचना निर्माणले  भावी पुस्तालाई अध्ययन, अनुसन्धान गर्ने ठाउँको रुपमा चिनाउन सकिने उहाँको भनाइ थियो। 
 
गाउँपालिकाले अघि सारेको योजनामा उपलब्ध स्रोतलाई मध्यनजर गर्दै काम भइरहेको पनि अध्यक्ष तामाङले जानकारी दिए। पर्यटकीयस्थलअन्तर्गत पार्क बनाउन लागिएको र थामन ह्युल्साको रुपमा चिनिएको ठाउँलाई अब भृकुटी पार्कको रुपमा चिनाउने उनको भनाइ थियो।
 
राष्ट्रिय विभूति भृकुटीको विवाहमा यही बाटो प्रयोग गरेको किम्वदन्ती रहेको र हालसम्म प्राप्त अभिलेखको आधारमा पनि भृकुटी पार्क निर्माण गर्न लागिएको  गाउँपालिकाले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागतमा सो पार्क निर्माण गर्न लागिएको  हो। गाउँपालिकाको १० औँ गाउँसभाले सिपाघाट, ज्यामीरेमाने, नवलपुर ओखरेनी सडकमार्गलाई भृकुटी मार्ग नामकरण गरेको छ।

भूकम्प स्मारक निर्माण
 
गाउँपालिकाको नवलपुरमा २०७२ सालको भूकम्पमा परी मृत्युभएका गाउँवासीको सम्झनामा भूकम्प स्मृति पार्क निर्माण गरिएको छ । अध्यक्ष तामाङका अनुसार भूकम्पमा परी मृत्यु भएका गाउँबासीको  नाम सो पार्कमा लेखिने छ । त्यसबखत  भूकम्पमा परी ५०० ले ज्यान गुमाएका थिए । भूकम्पमा सिन्धुपाल्चोकबाट मात्रै तीन हजार ५०० भन्दा बढीले ज्यान गुमाएका थिए।
 
सबै वडा कार्यालयको  आफ्नै भवन 
    
प्रत्येक वडाको आफ्नै कार्यालय भवन बनाइएको छ । खेल क्षेत्रबाट गाउँपालिकालाई चिनाउन रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको छ । पालिकाभित्र एक वडा एक खेल मैदानसमेत बनेको छ । विद्यालय र अस्पतालका लागी आवश्यक जनशक्ति व्यवस्था गरिएको छ । कृषिमा अनुदान र दूध बेच्ने किसानलाई गाउँपालिकाले अनुदानसमेत दिने भएको छ  ।  स्मार्ट पालिका बनाउनका लागि विद्युतीय हाजिरीको व्यवस्था गरिएको पालिकाका सूचना अधिकारी मनोज दङ्गालले बताउनुभयो । गाउँपालिकाको सडक र  वडा नं १०को  सडक कालोपत्रे गरिएको छ । त्यस्तै गाउँपालिका वरिपरिको एक किलोमिटर सडकसमेत कालोपत्रे गर्न लागिएको इन्जिनियर घोरसैनीले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: १४:११ बजे, मंगलबार, चैत १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्