व्यापार घाटा कम गर्न निर्यात सहजकिरण गर्नुपर्नेमा चेम्बरको जोड
काठमाडौं, फागुन ३० : नेपाल चेम्बर अफ कमर्सले बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि निर्यात सहजिकरण गर्नुपर्नेमा जोड दिएको छ । नेपाल निर्यात परिषदका नवनिर्वाचित...काठमाडौं, फागुन ३० : नेपाल चेम्बर अफ कमर्सले बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि निर्यात सहजिकरण गर्नुपर्नेमा जोड दिएको छ ।
नेपाल निर्यात परिषदका नवनिर्वाचित पदाधिकारीलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रर्वद्धनमा देखिएको नीतिगत कठिनाई अन्त्य गर्न चेम्बरले पहल गर्ने बताएका हुन् ।
प्राथमिकता प्राप्त बस्तुहरुको निर्यातमा विकसित देशहरुले अल्पविकसित राष्ट्रलाई दिने सहुलियत सम्वन्धी व्यवस्था जीएसपी सुविधा रिन्यु नहुँदा समस्या भएको अध्यक्ष मल्लको भनाई छ । अमेरिकाले पनि पछिल्लो समय जीएसपी सुविधाकटौती गर्दा भन्सार करमा २० प्रतिशत सम्म अतिरिक्त भार परेको निर्यात व्यवसायीले गुनासो गरेका थिए ।
अध्यक्ष मल्लले विकसित देशबाट पाउने जीएसपी सुविधामा सहजीकरणका लागि सरकारी निकायका साथै सम्वन्धित देशका राजदूतसंग पहल गर्ने बताए । बस्तु निर्यात गर्दा अनलाईनबाट सिधै भुक्तानी गर्न सकिने व्यवस्था गरिए निर्यात दोब्बरले वृद्धि गर्न सकिने अध्यक्ष मल्लको भनाई छ ।
मुलुकभरबाट उत्पादन भएका कृषिजन्य, हस्तकला, जडिवुटी, चिया, कफी लगायतका बस्तुलाई एकै ठाउँमा जम्मा गरी एकीकृत निर्यात केन्द्र वा निर्यात प्रवृद्धन गृह मार्फत निकासी गर्न सकिए साना व्यवसायीलाई लाभ तथा उत्पादन लागत कम हुने अध्यक्ष मल्लले बताए ।
कार्यक्रममा नेपाल निर्यात परिषदका नवनिर्वाचित अध्यक्ष रेशम बहादुर पोख्रेललले भन्सार प्रक्रीया सहजीकरण नहुँदा व्यवसायीले अनावश्यक दुःख पाएको गुनासो गरेका थिए । राज्यबाट निर्यातकर्ताले पाउने सुविधा पाउन पनि विभिन्न झण्झट भोग्नुपरेको अध्यक्ष पोख्रेलले गुनासो गरेका थिए ।











