होलीमा अभद्र व्यवहार गरे एक घन्टादेखि २४ दिनसम्म नियन्त्रणमा
काठमाडौं, फागुन ३० : होलीमा अभद्र व्यवहार गर्नेलाई प्रहरीले एक घन्टादेखि २४ दिनसम्म नियन्त्रणमा राख्ने तयारी गरेको छ। कोरोना महामारीका कारण गत वर्ष होली...
काठमाडौं, फागुन ३० : होलीमा अभद्र व्यवहार गर्नेलाई प्रहरीले एक घन्टादेखि २४ दिनसम्म नियन्त्रणमा राख्ने तयारी गरेको छ। कोरोना महामारीका कारण गत वर्ष होली खेल्न रोक लगाइएको थियो। तर यसपालि सार्वजनिक रूपमा होली खेल्न रोक नलगाइए पनि अभद्र व्यवहार नहोस् र अप्रिय घटना नघटोस् भनेर सुरक्षा व्यवस्थामा कडाइ गर्न लागिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।
यो वर्ष चैत ३ गते पहाडी जिल्लामा होली मनाइँदैछ। तराईमधेसमा भने भोलिपल्ट मनाउने चलन छ। होली मनाउने क्रममा काठमाडौं उपत्यकामा हुन सक्ने दुर्व्यवहार, भिडभाड, अभद्र व्यवहार नियन्त्रणका लागि थप कडाइ गर्ने तयारी गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।
‘कोभिड–१९ का कारण पोहोर होली मनाउन पाइएन। यो वर्ष रोक छैन। त्यसैले सुरक्षा व्यवस्थामा कडाइ गर्न लागिएको हो,’ उनले भने । उनका अनुसार होलीका नाममा फोहोर पानी फ्याँक्ने, केमिकल मिसाएर छ्याप्ने, झगडा गर्ने, जुवातास खेल्नेलगायत गतिविधि नियन्त्रणका लागि व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ। ‘भिडभाडमा हुने त्यस्ता गतिविधि रोक्न थप प्रहरी परिचालन गर्न लागेका हौं,’ उनले भने, ‘त्यस्तो गतिविधि गरेको पाइए एक घन्टादेखि २४ दिनसम्म नियन्त्रणमा राख्छौं ।’
घटनाको प्रकृत्ति हेरेर अन्य कारबाही पनि हुन सक्ने उनले बताए। सुरक्षा व्यवस्था कडा बनाउन भक्तपुर, ललितपुर र काठमाडौंले थप सुरक्षाकर्मी मागेको उनले जानकारी दिए। ‘काठमाडौंले २ सय ५०, ललितपुरले १ सय, भक्तपुरले ५० जना सुरक्षाकर्मी मागेका छन्,’ उनले काठमाडौं प्रेससँग भने, ‘यी तिनैवटा जिल्लामा ट्राफिक प्रहरीबाहेक ३/३ हजारको आसपासमा सुरक्षाकर्मी छन्।’
होलीमा सुरक्षा व्यवस्थाका लागि ट्राफिक प्रहरी, महानगरीय प्रहरी, सोही जिल्लाका प्रहरी परिचालन हुनेछन्। सादा पोसाकका प्रहरीसँगै मोबाइल भ्यान ४५ वटा, सिआरभी ७३ वटा, क्युआरटी १ सय ८० वटा परिचालन हुने उनले बताए। ‘उक्त दिन नाकामा पनि थप कडाइ र मादक पदार्थ सेवन (मापसे) मा कडाइ गछौं,’ उनले भने।











