चुनावमा पार्टीलाई जिताउने गरी लाग्न नेताकार्यकर्तालाई जसपा अध्यक्ष यादवकाे निर्देशन
काठमाडौं, फागुन ३० : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आउँदो स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउने गरी अभियान सुरु गर्न नेता तथा...
काठमाडौं, फागुन ३० : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आउँदो स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउने गरी अभियान सुरु गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
पार्टी केन्द्रीय कमिटीको जारी बैठकको दोस्रो दिन आज (सोमबार) नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उनले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन सबैले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।
उनले केन्द्रीय सदस्यहरूलाई आफ्नो कार्यक्षेत्रमा पुगेर गाउँ, नगर, वडालगायत पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई सशक्त बनाउन आग्रह गरे।
‘प्रत्येक केन्द्रीय सदस्यहरूले आफूले जिम्मा लिएको पालिकालाई जिताउन भरपुर प्रयास गरौं। वैशाख ३० गतेसम्म यो अभियान गरौं,’ उनले भने, ‘पार्टीलाई स्थापित गर्न स्थानीय तहको निर्वाचन महत्त्वपूर्ण हुन्छ। हामीले धेरै भन्दा धेरै पालिकामा पार्टीका उम्मेदवारलाई जिताउनुपर्छ।’
पार्टीका केन्द्रीय सदस्य अर्जुन थापाले बैठकले केन्द्रीय प्रतिनिधिहरुले कसरी आफ्नो जिम्मेवारीलाई पूरा गर्ने भन्नेबारे छलफल भइरहेको जानकारी दिए।
प्रचार विभाग प्रमुख डम्बर खतिवडाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर हरेक गाउँपालिकामा कम्तीमा एक केन्द्रीय सदस्यलाई खटाउने योजना बनिरहेकाे जानकारी दिए।











