Kathmandu Press

अन्तर्राष्ट्रिय टिम स्प्रिटमा नेपाली सेनालाई स्वर्ण

काठमाडाैं, फागुन २९ : नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौं अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’मा स्वर्ण पदक...
अन्तर्राष्ट्रिय टिम स्प्रिटमा नेपाली सेनालाई स्वर्ण

काठमाडाैं, फागुन २९ : नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौं अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’मा स्वर्ण पदक हात पार्न सफल भएको छ।

जंगल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि १०० किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगिता सबैभन्दा पहिले पूरा गरी स्वर्ण पदक जित्न सफल भएको थियो।

प्रतियोगितामा प्रमुख सेनानी सुधीर केसी, सहसेनानी पवन खत्री, उपसेनानी अनमोल प्रसाईं, जमदार राजकुमार सारु मगर, हुद्दाद्वय कृष्ण गुरुङ र मानकाजी तामाङ, प्युठ मनोज थापा, निकराज गुरुङ, युवीन अमगाईं, कपिल लामा र सिपाही अशोकबहादुर बम सहभागी हुनुहुथ्यो।

नेपाली सेनाले उक्त प्रतियोगितामा पहिलो पटक भाग लिएको हो। प्रतियोगितामा भाग लिनुअघि सेनाले पूर्वतयारी स्वरुप विभिन्न गण र गुल्मबाट छानिएका सकल दर्जालाई चार हप्ताको तालिम प्रदान गरेको थियो। प्रतियोगितामा नेपाल, श्रीलङ्का, केन्या, मोरक्को, उज्वेकिस्तान, टर्की, जोर्डन, साउदी अरेबियालगायतका मुलुकका सेना सहभागी थिए।

पहिलो प्रयासमा अब्बल नतिजा हासिल गर्नुमा नेपाली सेनाको व्यावसायिकता, पेशागत दक्षता, दृढ संकल्पसहितको अठोटले ठूलो बल पुर्‍याएको हो। प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जंगी अड्डामा आयोजित समारोहमा प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली टोलीमा सहभागी अधिकृत, पदिक र अन्य दर्जालाई ‘प्रधान सेनापति प्रशंसा पदक’ प्रदान गरे।

सो अवसरमा सैनिक तालिम महानिर्देशक सीताराम खड्काले प्रतियोगितामा सहभागी नेपाली सैनिक टोलीले नेपाल र नेपालीको गौरव र प्रतिष्ठा बढाउने काम गरेको भनी प्रशंसा गरे। उनले भने, 'छोटो तयारीमा पनि कडा परिश्रम र उच्च अनुशासनमा रही सैनिक व्यावसायिता प्रस्तुत गर्दै अरु मुलुकका सेनाबीच नेपाली सैनिक टोलीले पृथक पहिचान स्थापना गर्न सफल भएको छ।'

प्रकाशित मिति: १७:२७ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्