Kathmandu Press

वृद्धाभत्ताको प्रलोभनमा पारेर ७५ वर्षीया वृद्धाको जग्गा हडपियो, वडाध्यक्षको संलग्नता

आफ्नो जग्गा अरुको नाममा पुगेको थाहा पाएपछि बिममायाले फागुन २२ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। प्रहरीले वडाध्यक्ष भोटे र मालपोत कर्मचारीसहित ६ जनालाई फागुन २५ मा पक्राउ गरी सार्वजनिक गरेको छ।
वृद्धाभत्ताको प्रलोभनमा पारेर ७५ वर्षीया वृद्धाको जग्गा हडपियो, वडाध्यक्षको संलग्नता
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २९ : अपर अरुण जलविद्युत् आयोजना क्षेत्रभित्र पर्ने जग्गाको मुआब्जाबापत मोटो रकम पाउने भएपछि वडाध्यक्षले अशक्त वृद्धामाथि ठगी गरेको पाइएको छ। संखुवासभाको भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेले जालसाजी र कीर्ते कागज बनाएर स्थानीय ७५ वर्षीया बिममाया तामाङको जग्गा आफ्नो नाममा पास गरेको प्रहरीले जनाएको छ।

संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार, मालपोत कार्यालयका कर्मचारी र पीडितका आफन्तसँग मिलेर आयोजना क्षेत्रभित्र पर्ने दुई कित्ता जग्गा वडाध्यक्ष भोटेले आफूसँगै मालपोतका कर्मचारी र पीडितका आफन्तको नाममा रजिस्ट्रेसन पास गरेका थिए।

आफ्नो जग्गा अरुको नाममा पुगेको थाहा पाएपछि बिममायाले यही फागुन २२ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। उजुरीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको संखुवासभा प्रहरीले वडाध्यक्ष भोटे र मालपोत कर्मचारीसहित ६ जनालाई फागुन २५ मा पक्राउ गरी सार्वजनिक गरेको छ।

वृद्धाभत्ताको कागज बनाइदिने प्रलोभन

प्रहरीका अनुसार, ७६ वर्ष नाघिसकेकी बिममाया देख्न र सुन्न सक्दिनन्। उनी दिलबहादुर तामाङकी एक्ली सन्तान हुन्। भाटखोलाका कित्ता नम्बर १००, २७४, २७५, २८०, २९२ र ३४८ जग्गा उनको बाबुको नाममा थियो। तीमध्ये २७५ र २८० कित्ता नम्बरका जग्गा जलविद्युत् आयोजना क्षेत्रभित्र परेका छन्। बाबुको निधनपछि बिममाया नै ती जग्गाको हकवाला थिइन्। तर उनले ती जग्गा आफ्नो नाममा नामसारी भने गरेकी थिइनन्।

आयोजना क्षेत्रभित्र पर्ने जग्गा हडप्न वडाध्यक्ष भोटेले बिममायाका भदाहा सुरेन्द्र तामाङलाई प्रयोग गरे। सुरेन्द्रले वृद्धाभत्ताको कार्ड बनाउने र जग्गा नामसारी गरिदिने भन्दै बिममायालाई खाँदबारी लगेका थिए।

दलबहादुर तामाङको नामबाट बिममायाको नाममा नामसारी गर्न आवश्यक पर्ने कागजात खाँदबारीमै तयार गरिएको थियो। मालपोत कार्यालयमा काम गर्ने महेन्द्रकुमार पराजुलीसँग वडाध्यक्ष भोटे र सुरेन्द्रको पुरानो सम्बन्ध थियो। बिममायाको जग्गा हडप्नका लागि भोटे र सुरेन्द्रले अगाडि नै योजना बनाइसकेका थिए।

बिममायालाई खाँदबारीमा तीन दिन राखी वडाध्यक्ष लगायतको मिलेमतोमा दलबहादुर तामाङको नाममा रहेको जग्गा विभिन्न व्यक्तिको नाममा पास गरिएको डिएसपी सुवेदीले जानकारी दिए।

फागुन १ गते खाँदबारीमा पुगेका बिममायालाई भोलिपल्ट भदाहा सुरेन्द्रले मालपोत कार्यालय पु¥याएका थिए। आवश्यक कागजात तयार थियो। मालपोतका कर्मचारी पराजुलीले मालपोतमा लेखापढी गर्ने अनिस गुरुङमार्फत कागजात पेस गरे। जग्गा पास भएपछि गुरुङलाई वडाध्यक्ष भोटेले पारिश्रमिकबापत नौ हजार रुपैयाँ समेत दिएको प्रहरी अनुसन्धानले देखाएको छ।

कागजात पेस गरेकै दिन दलबहादुर तामाङको नाममा रहेको ६ कित्ता जग्गा बिममायाको नाममा नामसारी गरिएको थियो। त्यसमध्ये जलविद्युत् आयोजना क्षेत्रभित्र पर्ने कित्ता नम्बर २७५ र २८० का जग्गा पुनः बिममायाको नामबाट अन्य व्यक्तिको नाममा रजिस्ट्रेसन पास गरेको प्रहरीको भनाइ छ।

मालपोत कर्मचारी पराजुलीकै सल्लाहमा उनीहरूले तत्काल आफ्नो नाममा जग्गा पास गरेनन्। तीनै जनाले जग्गा भाग लगाई आ–आफ्नो तर्फबाट दोस्रो व्यक्तिका नाममा जग्गा पास गरेको पाइएको छ।

मालपोतका कर्मचारी पराजुलीको भागमा कित्ता नम्बर २७५ को १ हजार ८३० वर्गमिटर जग्गा परेको थियो। उनले उनकै घरमा डेरा गरी बस्ने पासाङ शेर्पाको नाममा पास गराएका थिए। त्यस्तै, कित्ता नम्बर २८० अन्तर्गतको ११ हजार ७३५ वर्गमिटर जग्गा वडाध्यक्ष भोटे र भदाहा सुुरेन्द्रले बाँडेका थिए। वडाध्यक्ष भोटेले कल्पना भोटे र भदाहा सुरेन्द्र तामाङले आफ्नी श्रीमती ङिमालाजुङ भोटेको नाममा पहिले रजिस्ट्रेशन पास गराए। कल्पना भोटेका तर्फबाट भने लेखापढी गर्ने अनिस गुरुङलाई वारेस बनाइयो।

काम सकेपछि भदाहा सुरेन्द्रले बिममायालाई सोही दिन भोटखोलास्थित घर लगेर छाडेका थिए। उनले वृद्धाभत्ता बापतको रकम भन्दै बिममायालाई २० हजार रुपैयाँ र लालपुर्जा समेत दिएका थिए।

यसरी फरकफरक व्यक्तिको नाममा पास भएको जग्गामध्ये मालपोत कर्मचारी पराजुलीले आफ्नो भागमा परेको जग्गा फागुन १६ गते मात्रै आफ्नी श्रीमती कविता पराजुलीको नाममा नामसारी गरेको प्रहरी बताउँछ।

पक्राउ परेका वडाध्यक्ष भोटेसहित मालपोतका कर्मचारी महेन्द्रकुमार पराजुली, सुरेन्द्र तामाङ, कल्पना भोटे, ङिमालाजुङ भोटे, अनिस गुुरुङ र पासाङ शेर्पालाई कारबाही प्रक्रिया अगाडि बढाएको डिएसपी सुवेदीले जनाएका छन्।

प्रकाशित मिति: १९:३३ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्