Kathmandu Press

उम्मेदवारले कति खर्च गर्न पाउँछन् स्थानीय चुनावमा?

उम्मेदवारले कति खर्च गर्न पाउँछन् स्थानीय चुनावमा?

काठमाडौं, फागुन २८ : निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ।

राजनीतिक दलसँगको छलफलमा आयोगले खर्चको सीमा बारे जानकारी दिएको हो। समयअनुसार खर्च सीमा बढाउनुपर्ने दलहरुले सुझाव दिएका थिए। आयोगले भने पहिलेकै मापदण्ड तोकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

आयोगले महानगरपालिकाको मेयर र उपमेयर पदका उमेदवारले बढीमा सात लाख ५० हजार खर्च गर्न पाउने सीमा तोकेको छ।

त्यस्तै, उपमहानगरपालिका मेयर तथा उपमेयरका उम्मेदवारले साढे पाँच लाख खर्च गर्न पाउनेछन्।

नगरपालिका मेयर तथा उपमेयरका लागि त्योभन्दा पनि कम खर्च गर्नुपर्ने सीमा तोकिएको छ। नगरपालिका मेयर तथा उपमेयरका उम्मेदवारले चार लाख ५० हजार रुपैयाँसम्म मात्रै खर्च गर्न पाउनेछन्।

यसैगरी, गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारले बढीमा तीन लाख ५० हजार खर्च गर्न आउने सीमा तोकिएको छ।

वडाध्यक्ष तथा सदस्यका उम्मेदवारमध्ये महानगरतर्फ तीन लाख ५० हजार, उपमहानगरपालिकातर्फ दुई लाख ५० हजार, नगरपालिकामा दुई लाख र गाउँपालिकामा एक लाख ५० हजारसम्म मात्रै खर्च गर्न पाउने भएका छन्।

सरकारले आगामी वैशाख ३० गते स्थानीय चुनाव घोषणा गरेको छ। त्यसअनुसार, आयोग तयारीमा जुटेको छ।

प्रकाशित मिति: ०६:३९ बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्