एनआरएनए महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पुनर्गठन
काठमाडौं, फागुन २७ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले सङ्घको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्। सङ्घको विधान...
काठमाडौं, फागुन २७ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले सङ्घको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्।
सङ्घको विधान २००३ (२०२१ संशोधनसहित) को धारा १६।१।४ अनुसार उनले निर्वाचन समिति पुनर्गठनका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेको विज्ञप्तिमार्फत जनाइएको छ।
गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद् (एनसिसी)मध्ये ५० भन्दा बढी एनसिसीले गत आइतबार एक बैठक गरी प्रमुख संरक्षक घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न अधिकार दिएका थिए ।
निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यमा इन्द्रा वन (अस्ट्रेलिया), अधिवक्ता वासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (युके), पुष्प थापा (जर्मनी), विमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहेका छन् ।
प्रमुख संरक्षक घलेले सङ्घको दशौँ महाधिवेशन आयोजना गर्न एक महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्। सङ्घका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सहसंयोजकमा अर्का उपाध्यक्ष मन केसी छन् । आयोजक समितिको सदस्यमा सबै एनसिसी अध्यक्षहरु, आइसिसीका पदाधिकारी, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजक लगायत रहनेछन् ।
दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत ८ देखि ११) सम्म काठमाडौँमा आयोजना हुने बताइएको छ । गत अक्टोबर २०२१ मा हुनुपर्ने दशौँ महाधिवेशन र निर्वाचन प्रतिनिधि विवादका कारण हुन नसकेपछि आइसिसीले प्रमुख संरक्षक घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । उच्चस्तरीय समितिले तयार गरेको झन्डै दुई हजार ६०० मतदाता रहेको सूचीका आधारमा निर्वाचन गराइने जनाइएको छ।











