राप्रपा नेपालले राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने अध्यक्ष थापाकाे दाबी
काठमाडाैं, फागुन २७ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हासिल गर्ने र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दाबी...
काठमाडाैं, फागुन २७ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हासिल गर्ने र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दाबी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले अहिले पार्टी सम्पूर्ण रुपमा स्थानीय तहको निर्वाचनको लागि तयारीमा होमिएको पनि बताए।
उनले पाँच वर्षको अवधिमा पार्टीले निकै कुरा गुमाएको भन्दै अब राप्रपा नेपाल सशक्त रुपमा अघि बढ्ने स्पष्ट पारे। विगतका त्रुटिहरुप्रति जनतासँग क्षमायाचना गर्दै अब गल्ती नगर्ने प्रतिबद्धता जनाएको भन्दै उनले पार्टीका एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गरे।
अध्यक्ष थापाले वर्तमान सरकारको फितलो र अदुरदर्शी नीतिले गर्दा नेपालको छिमेकी राष्ट्रसँगको सम्बन्ध सौहार्दपूर्ण हुन नसकेको टिप्पणी गरे। प्रमुख दलहरुको अदुरदर्शीता र सत्ता लोलुपताको कारण देशमा लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हाबी भइरहेको उनले बताए।
त्यस्तै उहाले प्रमुख दलले राज्य संयन्त्रमा कब्जा गरेर आफ्नो पार्टीको स्वार्थलाई सिद्ध गर्नको लागि प्रजातान्त्रिक मूल्य, मान्यता र संविधानलाई पटकपटक आघात पुर्याएको पनि धारणा राखे।
थापाले धर्मनिरपेक्षताको आडमा संगठित र योजनाबद्ध रुपमा धर्म परिवर्तन भइरहेको पनि आरोप लगाए। राप्रपा नेपालले महिला, आदिवासी, जनजाति, थारु, अल्पसंख्यक समूदायको हितलाई उच्च प्राथमिकतामा राखेको पनि उनले बताए।











