प्रचण्ड र माधवलाई दशा लागेर सरकार ढाले, सर्वोच्चमा गोरु ब्यायो : ओली
पोखरामा आयोजित प्रेस चौतारीको नवौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओलीले प्रचण्ड र माधव नेपाल र अदालतकाे सेटिङबाट दुई तिहाईको जननिर्वाचित सरकार ढालिएको बताए।
काठमाडौं, फागुन २७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड, माधव नेपाल र सर्वोच्च अदालतमाथि कटाक्ष गरेका छन्। पोखरामा आयोजित प्रेस चौतारीको नवौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओलीले प्रचण्ड र माधव नेपाल र अदालतकाे सेटिङबाट दुई तिहाईको जननिर्वाचित सरकार ढालिएको बताए।
उनले प्रचण्ड र माधवको वुद्धि बिग्रिएर लोकप्रिय सरकार ढलेको बताए। सरकार ढलेपछि दुबैजनाको घमण्ड र फुर्ति पनि समाप्त भएको बताएका छन्। ‘दशा लागेकाले दुई तिहाईको सरकार ढाले, अहिले हेर्नुस त बाहिर पर्खिएर बसेका हुन्छन्, भित्रबाट प्रसाद आउँछ कि भनेर,’ उनले भने, ‘कताका जंगेहरु कताका बंगे भए।’
ओलीले सर्वोच्च अदालतले नै जनतामा रहेको सार्वभौमसत्ताको मजाक उडाएको बताए। गोरु ब्याउँदैन भन्ने भनाई प्रचलित भएपनि सर्वोच्चमा भने गोरु ब्याएको टिप्पणी गरे। ‘गोरु ब्याएको मात्रै होइन ५ वटा बाच्छा पायो,’ उनले भने। सर्वोच्चले संविधान बाहिर गएर प्रगतिशील सरकारलाई ढालेको उनको आरोप छ।
सर्वोच्चले परमादेश दिएपनि आफूहरु भने परमादेशको समर्थन गर्न नसक्ने ओलीले बताए। उनले बहुमतको सरकार ढालेर परमादेशको सरकार बन्नुमा अमेरिकी षड्यन्त्र भएको पनि बताएका छन्।
‘एउटा इमेल आउँछ, अमेरिकाबाटै इमेल आउँछ, केपी ओलीको सरकार ढाल्नु नै थियो । न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ? होइन त्यहाँनेर वर्गी पूर्वाग्रह, दुराग्रह र विकास विरोधी षड्यन्त्र भएको थियो भन्ने कुरा त्यस इमेलले बताउँछ,’ उनले भने।











