कालापत्थरबाट विश्वको ध्यानाकर्षण गराउने महिला समूहलाई मन्त्री रेग्मीद्वारा स्वागत
काठमाडौंं, फागुन २७ : महिला, बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मीले जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन कालापत्थर पुगेर फर्किएका महिलाको समूहलाई स्वागत गरेकी...
काठमाडौंं, फागुन २७ : महिला, बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मीले जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन कालापत्थर पुगेर फर्किएका महिलाको समूहलाई स्वागत गरेकी छन्।
शुक्रबार त्रिभुवन विमानस्थल पुगेर मन्त्री रेग्मीले काठमाडौंदेखि १३ दिने पदयात्रा सुरु गरी कालापत्थर पुगेर फर्किएका समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहलाई स्वागत गरेकी हुन्। सो क्रममा मन्त्री रेग्मीले जलवायु परिवर्तनले पारेको असरका बारेमा विश्वलाई सन्देश दिनु सकारात्मक विषय भएको बताइन्।
जलवायु परिवर्तनले महिलालाई पारेको असरबारे गराइएको ध्यानाकर्षणप्रति उहाले आभार व्यक्त गरिन्। मन्त्री रेग्मीले जलवायु परिवर्तनले निकै असर पारेको भन्दै सबै सचेत हुनुपर्ने धारणा राखिन्।
त्यस्तै ‘साथसाथै’का अध्यक्ष प्रतिजा कार्कीले विभिन्न क्षेत्रका ४० जना महिलाको समूहले जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन घोषणापत्र जारी गरेको र कालापत्थरमा नै महिला दिवस मनाउन सफल भएको जानकारी दिइन्।
मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा महिलाहरुको समूहले कालापत्थरमा विशेष कार्यक्रम गर्दै जलवायु परिवर्तनका विषयमा १० बुँदे घोषणा पत्र जारी गरेको थियो।















