Kathmandu Press

बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या सुल्झाउन 'र्‍यापिड एक्सन टास्क फोर्स' बनाउने सरकारकाे निर्णय

मन्त्रिपरिषदले तुलसीपुर उपमहानगरपालीका र स्पेनको विलवाओ नगर परिषदबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृत पनि प्रदान गरेको छ।
बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या सुल्झाउन 'र्‍यापिड एक्सन टास्क फोर्स' बनाउने सरकारकाे निर्णय

काठमाडाैं, फागुन २७ : सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइटमा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्नका र्‍यापिड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानव जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनीकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरी आवश्यक सडक निर्माण र स्तरोन्नतिका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको भन्दै यस सम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न टास्क फोर्स गठन गर्ने निर्णय भएको जानकारी दिए।

त्यस्तै मन्त्रिपरिषदले फोहरमैलासम्बन्धी  कानुनको मस्यौदा तयार गर्न सहमति प्रदान गरेको छ भने नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। त्यस्तै पत्रकार दुर्घटना बिमा निर्देशिका स्वीकृत गर्ने, वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका स्वीकृत गर्ने र औधोगिक व्यवसाय नियमावली स्वीकृत गर्ने तथा सार्वजनिक खरिद ११औं संशोधन पनि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए।

त्यस्तै उनले श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई  संयुक्त अरब इमिरेट्स, सेसेल्स र कतारको भ्रमण गर्न स्वीकृति दिने निर्णय पनि भएको बताए।

मन्त्रिपरिषदले तुलसीपुर उपमहानगरपालीका र स्पेनको विलवाओ नगर परिषदबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृत पनि प्रदान गरेको छ। बिउबिजनको  किसिम वा जात सूचित गर्ने प्रयोजनार्थ राष्ट्रिय बीउबिजन समितिबाट सिफारिस भइ आइबमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृती दिने निर्णय पनि गरेको छ। 

प्रकाशित मिति: १३:४८ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्