ड्रागन खेतीमा बित्दै पूर्वमन्त्री विष्टका दिन
तुलसीपुर, फागुन २ : पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन्। आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन्। नेपालमा ‘ड्रागन...
तुलसीपुर, फागुन २७ : पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन्। आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन्। नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुन् विष्ट। हाल उनी तेस्रो चरणको ड्रागन फलको पर्खाइमा छन्। दुई चरणको ड्रागनको फल भित्र्याएर उनले आम्दानी लिइसकेका छन्।
विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिएका छन्। मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती किसानी गर्दा पनि उत्तिकै रहेको उनी बताउँछन्। विष्ट भन्छन्, 'म खेतमा काम गरिरहेको अवस्थामा कसैले देखेमा, भेट्न बोलाइ हाल्नुहुन्छ।' मन्त्री हुँदा जसरी मान्छे भेट्न आउँथे, अहिले खेती गर्दा पनि उत्तिकै भेट्न आउने गर्छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित घोराही–तुलसीपुर सडक छेऊमा कुनै समय बाँझो रहेको जग्गालाई विष्टले हराभरा बनाएका छन्। ड्राग्रन खेतीका लागि त्यो भूमि त्यत्ति उपयुक्त होइन, किनकि त्यसका लागि बलौटे माटो चाहिन्छ। तर पनि मेहनत गर्दा भने त्यसले राम्रै आम्दानी दिनेरहेछ भन्ने एउटा उदाहरण विष्टले प्रस्तुत गरेका छन्।
'अहिले हामीले जति मेहनत यो जग्गामा गरेका छौं, त्यति मेहेनत बलौटे माटोमा गरेको भए झनै धेरै आम्दानी गर्न सकिन्थ्यो,' उनले भने, 'तर यसमै पनि निकै मेहेनत हामीले गर्यौं, त्यसैले आम्दानी राम्रै दिने गरेको छ।'
ड्रागन फल जेठदेखि असोज–कात्तिकसम्म फल्छ। यो प्रायः रातिमा फल्ने भएकाले पनि ‘रातकी रानी’ भनेर पनि नाम दिइएको छ। यो फल मात्रै होइन, बिरुवाबाट पनि विष्टले आम्दानी गर्दै आएका छन्। अहिलेसम्म उनले दुईपटकमा गरेर सरदर रु. २०/२० लाख आम्दानी गरेको बताउँछन्। एक सिजनमा २८–३० क्विन्टल उत्पादन हुने गरेको छ। बिरुवाबाट त्यस्तै रु. ५ लाख जति आम्दानी भएको उनी बताउँछन्। अहिले उनले उत्पादन गरेका बिरुवा दाङ मात्रै होइन, अन्य जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ। फल्दै गरेको ड्रागन बेच्दै गर्दा भाइरल बनेका विष्टलाई उत्पादन भएको फल बेच्न त्यति कठिनाइ भएन भने बिरुवा बेच्न पनि सहज भयो।
उनीपछि सबैले यो खेतीका बारेमा चासो राखे । सबैले यो घरघरमै खेती गर्न चाहे। स्वास्थ्यका हिसाबले बहुउपयोगी मानिने यो फल सबैले घरमा लगाए। दुईपटक अधिक बिक्री भएको ड्रागन फलले तेस्रो पटकमा कत्तिको बजार पाउँछ, त्यो भने विष्टले पर्खिरहेका छन्। उनी भन्छन्, 'बजार राम्रो छ, यहाँबाट काठमाडौंलगायत पनि पुग्ने गर्छ, बजारीकरणका लागि समस्या छैन।' करिब रु. १ करोड लगानी गरेर विष्टसहित तीनजनाले व्यावसायिक ड्रागन खेती गरेका छन्। उनले तीनजनाको सहकार्यमा उक्त खेती सुरु गरेको बताए।
यसअघि पनि उनी कालो धानको खेती गरेर चर्चामा आएका थिए। भकुन्डेमा कालो धानखेती गरेर चर्चामा आउनुभएका उनी दाङमा ड्रागन खेती गरेर उत्तिकै चर्चामा हुनुहुन्छ । दाङमा पनि केही क्षेत्रफलमा धानखेती गरेको उनी बताउँछन्। उनले पछिल्ला युवालाई पनि नेपालमै बसेर पसिना बगाए मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएकोसमेत बताए। 'अहिले पनि युवा जमात रोजगारीका नाममा विदेश गइरहेको देखिन्छ”, उनले भने, 'तर हाम्रै वरपर खेर गइरहेको जग्गामा पनि मेहेनत गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएको छु, धेरै युवाले अहिले यही ड्रागन खेती पनि गर्नुभएको छ।' आफूले दाङमा यो खेती सुरु गरेपछि धेरैले यो खेतीमा चासो देखाएको समेत बताए।
छुटेन ‘लत’
राजनीतिबाट पूर्ण रूपमा ‘रिटायर्ड’ भए पनि विष्टले राजनीतिक लत भने छाडेका छैनन्। उनी राजनीतिलाई नजिकबाट नियालिरहन्छन्। यसको एउटा प्रमाण सामाजिक सञ्जालमा उनले दिने अभिव्यक्तिले पनि प्रस्ट हुन्छ। समसामयिक राजनीतिका विषयमा प्रत्येक दिन केही न केही स्टाटस आइरहेका हुन्छन्। यद्यपि उनी भन्छन्, 'अब म राजनीतिमा सक्रिय भएर लाग्दिनँ, अब मेरो पेसा भनेको कृषि नै हो।' कृषिलाई राजनीति अडिने घरका रूपमा विष्ट वर्णन गर्छन्। उनले राजनीति भनेको कृषिको धुरी भएको प्रतिक्रिया दिए। 'अर्थतन्त्र भनेको राजनीतिको जग हो, कृषि भनेको हाम्रो जग हो,' उनले भने, 'जब हामी कृषिलाई परित्याग गरेर राजनीति गर्छौं, त्यो राजनीति हुँदैन, त्यो त लाजनीति हुन्छ।'
भाषणमा समाजवादका कुरा गर्ने तर श्रम गरेर खाने वर्गलाई हेप्ने प्रवृत्ति छ। यो सर्वहारा वर्गका प्रतिध्रुवीय वर्गले अँगाल्ने चिन्तन रहेको उनी बताउँछन्। राजनीतिबिनाको कृषि र कृषिबिनाको राजनीति सम्भव नहुने उनी बताउउँछन्। 'म अब सक्रिय राजनीतिमा आउँदिनँ,' उनी भन्छन्, 'मेरो पार्टी भनेको यही कृषि पार्टी हो।' सत्ता सञ्चालनको विधि राजनीति भएको भन्दै उनले अन्य विकसित मुलुकले पनि राजनीति गर्ने तर कृषि पेसालाई नछाडेको अवस्था रहेकाे तर नेपालमा उल्टो भइरहेकाे उनी बताउँछन्।
‘राजनीति सेवा हो’
आजीवन राजनीति गर्ने प्रवृत्तिको उनी विरोधी हुन्। राजनीति भनेको आजीवनको पेशा नभई यो आवधिक हुने बताउँछन्। भन्छन्, 'राजनीति भनेको आजीवनको पेशा, व्यवसाय, कसैको ठेक्कापट्टा, रोजगारी होइन, यो त आवधिक समाजसेवा हो' राजनीति भनेको निःशुल्क, निःशर्त, निःशुल्क हुने बताउँछन्। तर अहिले त आफूबिना राजनीति नै नचल्नेजस्तो प्रवृत्ति रहेको भन्दै यसको आफू निकै विरोधी रहेको समेत बताए।
विष्ट दुईपटक मन्त्री भइसकेका व्यक्ति हुन्। पहिलोपटक स्वास्थ्यमन्त्री भएका उनी दोस्रोपटक पर्यटनमन्त्री भएका थिए। माओवादीको १० वर्षे जनयुद्ध सुरुआत गर्ने १९ केन्द्रीय सदस्यमध्ये एक हुन् उनी। जतिबेला उनलाई ‘अभ्यास’ उपनामले चिनिन्थ्यो । आफू ५५ वर्ष हुँदासम्म राजनीति गरेको र अब बाँकी जीवन कृषिलाई समर्पित गर्ने उनले बताए। 'मैले राजनीतिमा ५५ वर्ष बिताएँ, अब बढी बाँचे २०/२२ वर्ष बाँचुला,' उनले भने, 'अब मैले सचेत ढंगले राजनीति छाड्नुपर्छ भनेर नै यो पेसा अँगालेको हुँ, अब राजनीतिमा नयाँ मान्छे आउनुपर्छ, नेतृत्व विकास गर्नुपर्छ भन्ने मेरो बुझाइ हो।'
कम्युनिष्ट सदस्य हुने रहर
राजनीति छाडेको भनेपछि अझै पनि पार्टीको सदस्यता बन्ने रहर भने मेटिएको छैन। अलि बढी क्रान्तिकारी र इमान्दारिता देखिएको कम्युनिष्ट पार्टीको सदस्यता भने लिने अझै पनि इच्छा छ विष्टको। 'मर्ने बेलामा साथीले यो हाम्रो सदस्य हो भनेर झण्डा ओडाइदेलान नि १,' उनले भने, 'त्यही झन्डाका लागि जिन्दगी राजनीतिमै समर्पण गरियो, अब मर्ने बेला झण्डा किन छाड्ने, त्यसैले तुलनात्मक रूपमा अलि क्रान्तिकारीजस्तो देखिने एउटा कम्युनिस्ट पार्टीको सदस्यता लिएर मर्ने रहर छ।' उनी राजनीतिप्रति भने वितृष्ण पैदा भएको बताउँछन्। उनले राजनीति समाजसेवाभन्दा पनि कमिसनखोरी भएको बताए।
त्यत्तिमात्रै होइन, राजनीतिमा षड्यन्त्रमय, रहस्यमय हुने गरेको उनको अनुभव छ। विष्ट भन्छन्, 'पार्टीका शीर्ष नेतृत्वभित्रका मान्छेले मात्रै बुझ्ने र अरुले नतमस्तक भएर ताली पिट्नुपर्ने अवस्था छ, सर्वहारा वर्गको पार्टीमा यस्तो हुनु एकदम गलत हो।' उनले राजनीति र अपराधबीचमा कुनै भिन्नता नभएको, सर्वहारा, श्रमजीवी वर्गको विरोधीजस्तो देखिएको बताए।
अहिले पनि आफूलाई राजनीतिमा आउनुपर्छ, भनी धेरैले आग्रह गर्ने गरेको बताए। तर उनलाई सक्रिय राजनीतिमा आउन इच्छा छैन । त्यसरी इच्छा मर्नुमा अहिलेको निर्वाचन प्रणाली पनि रहेको उनी बताउँछन्। 'निर्वाचन नै लड्दा रु चाररपाँच करोड खर्च हुन्छ, अझ त्यत्तिले पनि पुग्दैन' उनले भने, 'हामीले जनयुद्ध सुरु गर्दा मकै, भटमास खाएर त्यतिबेलाको राप्तीसहित जाजरकोट, डोल्पा, कालीकोटमा संगठन निर्माण गरेका थियौं तर अब त्यस्तो राजनीति रहेन, अब त्यो कल्पना पनि गर्न सकिने अवस्था छैन ।' (रासस)











