राष्ट्रिय राजनीति माओवादी केन्द्रको इसारामा चलिरहेको छ : प्रचण्ड
काठमाडौं, फागुन २७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय राजनीति कता लैजाने भन्ने निर्णायक भूमिकामा अझैपनि माओवादी केन्द्र नै रहेको...
काठमाडौं, फागुन २७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय राजनीति कता लैजाने भन्ने निर्णायक भूमिकामा अझैपनि माओवादी केन्द्र नै रहेको दाबी गरेका छन्।
शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै देश माओवादीको एजेन्डामा चलिरहेको र राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलेको दाबी गरेका हुन्।
उनले एमसिसी पास भएपछि सत्ता गठबन्धनमा खटपट नभएको बताउँदै आगामी स्थानीय तहको निर्वाचनसम्म नै गठबन्धन कायम हुने बताएका छन्। उनले एमसिसी पास नगरेको भए देश ठूलो दुर्घटनामा पर्ने पनि बताएका छन्। अहिले त्यो खतरा टरेका कारण सबैले खुशी मान्नुपर्ने पनि उनको भनाई थियो।
एमसिसीका कारण पार्टीभित्र देखिएको समस्या पनि समाधानोन्मुख भएको प्रचण्डले बताए । उनले भने ‘हामीले अन्तत केन्द्रीय समितिबाट पार्टीलाई एकताबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन अभियानमा जाने र यो विषयमा भएका मतभेदलाई एउटा फोरम मार्फत निष्कर्ष निकाल्ने भनेर सर्वसम्मत केन्द्रीय समितिबाट निर्णय गरेपछि यो चर्चा परिचर्चामा बाहिर थिए ती सम्पूर्ण विषयको समाधान भएको छ ।’











