एकीकृत समाजवादीकाे राजनीतिक प्रतिवेदन सुझावसहित पारित
काठमाडाैं, फागुन २६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित भएको छ।बुधबार सुरु भएको केन्द्रीय कमिटीको तेस्राे...
काठमाडाैं, फागुन २६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित भएको छ।
बुधबार सुरु भएको केन्द्रीय कमिटीको तेस्राे बैठककाे दोस्रो दिन आज (बिहीबार) उक्त प्रतिवेदन पारित गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र मोर्चा संगठन सञ्चालन निर्देशिका तथा सम्पर्क मञ्च सञ्चालन निर्देशिकामाथि छलफल गर्न नौ समूह बनाइएको थियो। सबै समूहबाट एकएकजनाले निष्कर्ष बैठकमा पेस गरेका थिए।
समूह छलफलको निष्कर्ष प्रस्तुत गर्न गण्डकी प्रदेशबाट रेखा थापा बस्याल, सुदूरपश्चिमबाट शेरबहादुर कुँवर, मधेसबाट सत्यनारायण यादव, प्देश १ बाट प्रदेशबाट धर्मराज पौडेल, वाग्गमतीबाट विदुर सापकोटा, कर्णालीबाट अमर थापा, लुम्बिनीबाट राज गुरुङ, उपत्यका तथा सम्पर्क विशेष प्रदेशबाट केदार सञ्जेल र मोर्चा तथा विभागबाट प्रमेश पोखरेललाई जिमेवारी दिइएको थियो। निष्कर्ष प्रस्ततिपछि अध्यक्ष नेपालले छलफलमा उठेका विषयमा प्रष्ट पारेका थिए।
पारित प्रतिवेदनमा वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण, एमससिीको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका संगठनात्मक कार्यहरूको समीक्षा गरिएको छ। त्यस्तै पार्टीको आगामी कार्ययोजनालगायतका अन्य विविध विषय समेटिएको छ।
बैठकबाट मोर्चा संगठन र सम्पर्क मञ्च सञ्चालन निर्देशिका पनि पारित भएको एकीकृत समाजवादीको सचिवालयले जनाएके छ। बैठकबाट १४ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरिएको जनाइएको छ।
बैठकले स्थायी कमिटी र केन्द्रीय सचिवालयबाट गरिएका राजनीतिक एवं सांगठनिक निर्णयको पनि अनुमोदन गरेको छ।
बैठकले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य बस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको छ। मुलुकको आर्थिक सूचकहरु कमजोर भइरहेको भन्दै सरकारलाई आर्थिक सुधारका लागि ठोस योजना चाल्न सुझाव दिएको छ।
त्यस्तै जनचाहनाअनुरुप राज्यका सवै अंगमा भ्रष्टचारको नियन्त्रण र छानविन गर्नका लागि शक्तिशालि आयोग गठन गर्न पनि माग गरेको खतिवडाले बताए। त्यस्तै स्थानीय तहको निर्वाचनमा सम्पूर्ण शक्ति लगाउने निर्णय भएको उनले बताए।
त्यसअघि समूहगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै अध्यक्ष नेपालले प्रतिगमनकारी दक्षिणपन्थी शक्तिसँग हाम्रो लडाइँ कायमै रहेको बताएका थिए।
उनले आफूभित्र भएका कमीकमजोरीहरु सच्चाएर आपसमा विश्वासको वातावरण बनाउदै पार्टीलाई जनताकेन्द्रीत बनाउन निर्देशन दिए। अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनलाई केन्द्रविन्दुमा राखेर पार्टी गतिविधि अघि बढाउन निर्देशन पनि दिए।
समूहगत छलफलका क्रममा नेताहरुले पार्टीबाट मन्त्री भएकाहरुको आचरणप्रति प्रश्न उठाएका थिए ।











