विदेशबाट नेपाल आउँदा क्वारेन्टिन बस्न नपर्ने, खोप लगाएको वा पीसीआर रिपोर्ट नेगेटिभ भए पुग्ने
कोरोना महामारीताका लगाइएका प्रतिवन्धहरुलाई खारेज गर्दै अध्यागमन विभागले नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ ।अब विदेशबाट नेपाल आउने यात्रुले कोभिड–१९ विरुद्धको खोप पूर्ण मात्रामा लगाइसकेको वा पीसीआर रिपोर्ट नेगेटिभ भएकाे प्रमाण पेस गरे पुग्ने भएको छ।
काठमाडौं, फागुन २६ : अध्यागमन विभागले विदेशबाट नेपाल आउनेहरुका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ। कोरोना महामारीताका लगाइएका प्रतिवन्धहरुलाई खारेज गर्दै बिहीबार विभागले नयाँ एड्भाइजरी जारी गरेको हो।
अध्यागमन विभागका निर्देशक मुकेशकुमार केशरीले जारी गरेको सूचनानुसार अब विदेशबाट नेपाल आउने यात्रुले कोभिड–१९ विरुद्धको खोप पूर्ण मात्रामा लगाइसकेको वा पीसीआर रिपोर्ट नेगेटिभ भएकाे प्रमाण पेस गरे पुग्ने भएको हो।
यसअघि नेपाल आउने यात्रुले खोपकार्ड संगै ७२ घण्टाअघिको नेगेटिभ पिसिआर रिपोर्ट पेश गर्नुपर्ने व्यवस्था थियो । त्यस्तै नेपाल आएपछि १४ दिन क्वारेन्टिन बस्नुपर्ने, होटलको अग्रिम बुकिङ गर्नुंपर्ने लगायतका प्रावधानहरु राखिएको थियो।
बिहीबार अध्यागमन विभागले ती सबै प्रावधानहरु खारेज गरी नेपाल आउन चाहने विदेशीहरुका लागि सहज व्यवस्था बनाएको हो। अब आउन चाहने विदेशीहरुले क्वारेन्टिन समेत बस्न नपर्ने निर्देशक केशरीले बताएका छन्।
‘हवाई मार्ग वा स्थल मार्ग भई विदेशबाट नेपाल प्रवेश गर्ने यात्रीले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ, ‘त्यस्तो प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले यात्रा सुरु गर्नु ७२ घन्टाभित्रको कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेस गर्नुपर्नेछ।’












