Kathmandu Press

सङ्खुवासभा दुर्घटना अपडेट : १० मृतक र पाँच घाइतेको पहिचान खुल्यो

सङ्खुवासभा, फागुन २६ : सङ्खुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ।बस दुर्घटनामा मृत्यु हुने १०...
सङ्खुवासभा दुर्घटना अपडेट : १० मृतक र पाँच घाइतेको पहिचान खुल्यो

सङ्खुवासभा, फागुन २६ : सङ्खुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ।

बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँचजनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी– ६ की अञ्जना कटुवाल र मादी– ५ की दीक्षा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। 

बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्रगतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए।

घाइतेको हेलिकप्टरमार्फत उद्धार

बस दुर्घटनामा परेको पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन्। दुर्घटनामा घाइते भएका पाँच जनाकै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरी प्रमुख सुवेदीले बताए।

प्रकाशित मिति: १२:४४ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्