Kathmandu Press

गृहमन्त्री खाणको पहलमा नागरिकता ऐन विधेयकमा सहमति जुटाउने प्रयास जारी 

काठमाडौं, फागुन २५ : सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाएर सदनमा पेस गर्ने तयारी थालिएको छ । सहमति...
गृहमन्त्री खाणको पहलमा नागरिकता ऐन विधेयकमा सहमति जुटाउने प्रयास जारी 

काठमाडौं, फागुन २५ : सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाएर सदनमा पेस गर्ने तयारी थालिएको छ । 

सहमति जुटाउन भन्दै गृहमन्त्री बालकृष्ण खाणको पहलमा बुधबार पनि गृह मन्त्रालयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीच छलफल भएको हो । 

छलफलका सहभागीहरूले विधेयकलाई सदनमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूबीचको सहमतिमा टुंग्याउनु पर्ने बताएका थिए । ‘नागरिकता विधेयक अत्यावश्यक भइसकेको छ । विधेयक पारित नहुँदा धेरै नागरिक शिक्षा, रोजगारीलगायत राज्यबाट प्राप्त हुने अन्य सेवा सुविधाबाट बञ्चित हुन परिरहेको छ,’ छलफलका सहभागी सांसदहरूको एउटै धारणा थियो । 

छलफलमा गृहमन्त्री खाणले सरकार दलीय सहमतिमा नागरिकतासम्बन्धी विधेयक संसद्बाट पारित गरेर नागरिकता नपाएका नेपाली नागरिकलाई नागरिकता वितरण गर्ने पक्षमा रहेको बताएका थिए  । सरकार सहमतिका लागि आवश्यक परे पुनः छलफल गर्न र शीर्ष तहमा छलफल गर्न पनि तयार रहेको उनले बताए ।

नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले वैवाहिक अंगिकृतको विषयबाहेक सबै विषयमा राज्य व्यवस्था तथा सुशासन समितिमा कुरा मिलेको भन्दै त्यही प्रतिवेदनअनुसार अगाडि बढ्दा उपयुक्त हुने बताए  । माओवादी केन्द्रका सांसद गुरुङले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनलाई आधार मानेर अगाडि बढ्दा उपयुक्त हुने बताए । 

छलफलमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दीलेन्द्र प्रसाद बडू, नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेल, नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङ, नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्ण, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा लगायतको सहभागितामा भएको छलफलमा नागरिकता समस्या समाधानका लागि विधेयक दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको हो । 

यसअघि २३ फागुनमा पनि गृहमन्त्री खाणको पहलमा नागरिकता विधेयकमा सहमति जुटाउन छलफल भएको थियो । 

प्रकाशित मिति: १९:४२ बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्