सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकारलाई निर्देशन
काठमाडाैं, फागुन २५ : प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकारलाई निर्देशन...
काठमाडाैं, फागुन २५ : प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्नेतर्फ ध्यान दिँदै सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो।
आयल निगम धराशायी स्थितिमा पुगेको हुनाले सम्बन्धित निकायले आयल निगमको जायज मागहरूको सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ।
समिति सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्नेतर्फ योजना बनाउन निर्देशन दिइएको बताए।
बैठकमा निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा यसको असर परेको बताए। उनले १५–१५ दिनमा नयाँ मूल्य प्राप्त हुने र यसले गर्दा निगम थप भारमा परेकाले समयमा नै भारतलाई बक्यौता बुझाउन पनि समस्या देखिएको धारणा राखे।
समिति सदस्यहरुले अनावश्यक करका कारण पेट्रोलियम पदार्थ चर्को मुल्य तिर्न उपभोक्ताहरु बाध्य भएकाले यसमा सोच्नुपर्ने बेला आएको धारणा राखेका थिए।











