संशोधित राष्ट्रिय प्रसारण ऐनप्रति सञ्चारमन्त्री कार्कीलाई पत्रकार महासंघको ध्यानाकर्षण
काठमाडौं, फागुन २६ : नेपाल पत्रकार महासंघले सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीसमक्ष ध्यानाकर्षणपत्र बुझाएको छ।सरकारले राष्ट्रिय प्रसारण ऐन संशोधन गरेकाे र त्यसका केही बुँदा आपत्तिजनक...
काठमाडौं, फागुन २६ : नेपाल पत्रकार महासंघले सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीसमक्ष ध्यानाकर्षणपत्र बुझाएको छ।
सरकारले राष्ट्रिय प्रसारण ऐन संशोधन गरेकाे र त्यसका केही बुँदा आपत्तिजनक रहेकाे भन्दै बुधबार (आज) एक कार्यक्रम आयाेजना गरेर मन्त्री ज्ञानेन्द्र कार्कीसमक्ष ध्यानाकर्षणपत्र बुझाएको हाे।
मन्त्री कार्कीलाई ढिलै भए पनि महासंघमा स्वागत गर्न पाएकोमा महासंघ हर्षित भएको महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले बताए।महासंघका माग पूरा गरिदिन उनले मन्त्री कार्कीलाई आग्रह गरे।
'हालसालै सरकारले राष्ट्रिय प्रसारण ऐन संशोधन गरेकाे र त्यसका केही बुँदाप्रति महासंघकाे आपत्ति छ। ध्यानाकर्षणपत्रमार्फत त्याे विषय अघि सारिएको छ,' उनले भने।
सञ्चार क्षेत्रसम्बन्धी ऐनकानुन बनाउँदा सम्बन्धित निकायसँग प्रारम्भिक छलफल तथा परामर्श गर्नुपर्ने भन्दै उनले सरकारकाे ध्यानाकर्षणसमेत गराए।
साथै आम सञ्चार प्रशिक्षण प्रतिष्ठान्, महासंघलाई भवनको भौतिक सुधारका लागि सरकारबाट प्राप्त हुने वार्षिक बजेटलगायत विषयमा पनि प्रक्रिया अघि बढाउन मन्त्री कार्कीसमक्ष उनले अनुरोध गरे।
महासंघकै धारणामा एकमत राख्दै नेपाल प्रेस काउन्सिलका सदस्य ठाकुर बेल्बासेले सरकारले ल्याएको संशोधित राष्ट्रिय प्रसारण ऐनले सिर्जना गरेको विवादका विषयमा प्रस्ट पार्नुपर्नेमा जाेड दिए।
सदस्य बेल्बासले अभिव्यक्ति स्वतन्त्रताको अधिकार स्थापित हुँदा संशोधित नियमावलीले पत्रकारिता क्षेत्रमा पार्न सक्ने सम्भावित सदस्यतर्फ ध्यानाकर्षण गराए ।
कार्यक्रममा मन्त्री कार्कीले ध्यानाकर्षण गरिएका विषयमा मन्त्रालयले थप गृहकार्य तथा बहस गर्ने बताएका छन्। संशोधन भएको नियमावलीले अभिव्यक्ति प्रेस स्वतन्त्रतामा नियन्त्रणभन्दा पनि नियमन गर्न खोजिएको उनकाे भनाइ थियाे।
उनका अनुसार हाल सामाजिक सञ्जालमा व्याप्त रहेका अनेक प्रकारका समाचार तथा जानकारी प्रकाशनमा भने नियमनको दायरामा ल्याउन खोजिएको हो।











