निर्वाचन केन्द्रित अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ : कांग्रेस प्रवक्ता महत
काठमाडाैं, फागुन २५ : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रित अभियानको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले फागुन २९...
काठमाडाैं, फागुन २५ : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रित अभियानको कार्यतालिका सार्वजनिक गरेको छ।
पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले फागुन २९ देखि सुरु हुने 'घरघर जाऔं, कांग्रेस जिताऔं' अभियानको कार्यतालिका र उद्देश्य सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत्तले सबैको काँधमा भारी, सबैको काँधमा जिम्मेवारी भन्ने नारासहित सबै नेता, कार्यकर्तालाई आवश्यक जिम्मेवारी दिने बताए। उनले फागुन २९ देखि चैत २९ सम्म चल्ने अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी दिए।
अभियानअन्तर्गत कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने, एमlससीबारे जनतालाई जानकारी गराउने योजना कांग्रेसको छ।
त्यस्तै केन्द्रबाट निर्धारित अभियानलाई व्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने र आफ्नो समिति अन्तर्गतका पदाधिकारी र सदस्यहरुलाई सम्बन्धित वडामा अथवा आवश्यकता अनुरुप फरकफरक वडामा परिचालन गरिने प्रवक्ता महतले बताए।
अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गरिने र समितिले कार्यक्रमको कार्यान्वयन अनुगमन तथा कार्यान्वयन पस्चातको प्रभाव समेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिने उनले जानकारी दिए।
अभियान अन्तर्गत नै भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो संगठनको प्रकृति अनुसारको संरचना, स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने कांग्रेसले जनाएको छ।











