सभामुख सापकोटा र फ्रान्स-नेपाल संसदीय मैत्री समूहकाे प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट
काठमाडौं, फागुन २५ : सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज (बुधबार) शिष्टाचार भेट भएको छ।प्रतिनिधिमण्डल सभामुखलाई...
काठमाडौं, फागुन २५ : सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज (बुधबार) शिष्टाचार भेट भएको छ।
प्रतिनिधिमण्डल सभामुखलाई भेट्न सिंहदरबारस्थित उनकै कार्यकक्षमा पुगेको थियो। सो भेटमा सभामुख सापकोटाले कोरोनाविरुद्ध फ्रान्सले नेपालको चिकित्सा क्षेत्र र कोभ्याक्सअन्तर्गत खोप उपलब्ध गराउन सहयोग पुर्याएकोप्रति फ्रान्स सरकार र फ्रान्सेली जनतालाई धन्यवाद दिए। नेपालको आर्थिक र सामाजिक विकासमा फ्रान्सको सहयोगका लागि आभार पनि व्यक्त गरे।
सापकोटाले नेपाल र फ्रान्सबीच ७३ वर्षदेखिको कूटनीतिक सम्बन्ध सुमधुर र उदाहरणीय रहेको बताए। सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच पर्यटन, कृषि र व्यापारको क्षेत्रमा थप सहकार्यको सम्भावना रहेको उल्लेख पनि गरे।
भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष रिटनले आफ्नो टिमलाई नेपालमा गरिएको आतिथ्यका लागि आभार व्यक्त गरिन्। दुई देशबीच आपसी सहयोग र सहकार्यका लागि छलफल गरेर क्षेत्र छनोट गर्न सकिने उनले बताइन्।
प्रतिनिधिमण्डलमा सहभागी अन्य सदस्यहरुले फ्रान्सको तल्लो सदनले गरेका अभ्यासहरुबारे जानकारी गराउँदै दुई पक्षीय भ्रमण आदानप्रदानबाट सिकाइको अवसर मिल्ने धारणा राखे।











