Kathmandu Press

दोर्दीखोलाले वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने

लमजुङ, फागुन २५ : हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा यहाँ निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने भएको छ। जिल्लाको दोर्दी...
दोर्दीखोलाले वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने

लमजुङ, फागुन २५ : हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा यहाँ निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने भएको छ। 

जिल्लाको दोर्दी खोलामा निर्माणाधीन २७ मेगावाट क्षमताको सो आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र आगामी चैतभित्र परीक्षण गरेर वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने आयोजना प्रमुख मुना शाक्याले जानकारी दिए।

उनले भने, ‘हामीले आयोजनाको निर्माण सम्पन्न गर्दै एक महिनाको लामो परीक्षण गरिसकेका छौं।’ यसबीचमा साना–साना समस्या रहेको र गत असारमा आएको बाढीले क्षति बनाएको बाँधस्थल लगायतका क्षेत्रमा पर्खाल लगाउने र मर्मत गर्ने कार्य भइरहेको उहाँको भनाइ छ।

चैतभित्र बाँकी रहेका ती काम सम्पन्न गर्दै अन्तिम परीक्षण गर्ने र प्राविधिकरणले जाँच गरेसँगै वैशाखको पहिलो हप्ताबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन गर्ने उनको भनाइ थियो ।

आयोजनाको शत् प्रतिशत नै निर्माण सम्पन्न भए पनि गत असारमा आएको बाढीले क्षति बनाएको टनेलको सिपेज र बाँधस्थलमा निर्माण गरिएको ‘गेट’को मर्मत भइरहेको छ। 

उनका अनुसार इलोट्रो–मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायतका काम सम्पन्न भइसकेको छ। उक्त सबैको सफल परीक्षणसमेत भइसकेको छ।

त्यस्तै, पाइप विच्छ्याउने, सुरुङ खन्ने लगायतका अधिकांश निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ।  पनस्टेकको ७०० मिटर, तीन हजार २०० मिटरको सुरुङ खन्ने तथा पाइप विच्छाउने, अर्को दुई हजार २७० मिटरको सुरुङको सम्पूर्ण काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। 

आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको छ। बेंसीसहर नगरपालिका–११ रामचोकबेँसीमा पावर हाउस रहेको छ। २०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाले २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो।

नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत् गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुर्‍याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ। 

पछि समय थपेर २०७६ चैत मसान्तसम्म निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि २०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो। सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि २०७६ पुसमा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको थियो।

सो समयमा पनि बिजुली उत्पादन गर्न नसकेपछि २०७७ चैतसम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखेपनि सम्पन्न भएन। सो पश्चात् आगामी चैतभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेपनि अगामी वैशाख महिनामा मात्र उत्पादन हुने भएको छ। 

सुरुमा चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरेपनि निर्माण अवधि लम्बिदै गएकाले चार अर्ब ६४ करोड रुपैयाँसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान छ।

यस आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५ दशमलव सात प्रतिशत, आइएमई गु्ररुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो। 

आयोजनाको अनुसार सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको छ। जिल्लामा यसअघि आधा दर्जन जलविद्युत् आयोजनाले निर्माणकार्य सम्पन्न गर्दै बिजुली उत्पादन गरिरहेको छ।

त्यस्तै आधादर्जन भन्दा बढी आयोजनाले निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा यस आयोजना जसरी पटकपटक विद्युत् उत्पादन मिति तोक्दै निर्माण अघि बढाइरहेको छ।

प्रकाशित मिति: १३:०८ बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्