सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको १ लाख ५ हजार ५ सय रुपैयाँ

काठमाडाैं, फागुन २५ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु एक लाख पाँच हजार ५०० पुगेको छ।
केही दिनदेखि ढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु. १ लाख ३ हजारमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. १ लाख ५ हजार तोकिएको छ। जसको मूल्य मंगलबार प्रतितोला रु. १ लाख २ हजार ५ सय थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ४०ले बढेर रु एक हजार ४५० पुगेको महासंघले जनाएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ५० डलर आसपास कारोबार भइरहेको छ।











