चुनाव चिह्न हरियो रङले छाप्ने निर्णयप्रति ओलीकाे आपत्ति
काठमाडौं, फागुन २४ : एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा प्रयोग गरिने मतपत्रमा चुनाव चिह्न हरियो रङले छाप्ने भनी निर्वाचन आयोगले गरेको निर्णयप्रति...
काठमाडौं, फागुन २४ : एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा प्रयोग गरिने मतपत्रमा चुनाव चिह्न हरियो रङले छाप्ने भनी निर्वाचन आयोगले गरेको निर्णयप्रति आपत्ति जनाएका छन्।
एमालेनिकट अखिल नेपाल महिला संघले ११२औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज (मंगलबार) काठमाडौंमा आयोजना गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगलाई प्रश्न गरे, ‘हरियो चिह्न के कारणले राख्ने? के हिसाबले राख्ने हो?’ उनले कांग्रेसको चुनाव चिह्नतिर संकेत गर्दै भने, ‘कि कसैको हरियो देखिने चिह्न छ र जनताले हरियो रुखैरुख देखून् भनेर राख्ने हो? हरियो, सरियो हुँदैन।’
निर्वाचन आयोगले साँच्चै हरियो रङमा चुनाव चिह्न राख्ने निर्णय गरेको भए त्यसलाई सच्याउनुपर्ने माग ओलीले गरे।
आयोगले सोमबार प्रेस विज्ञप्तिमार्फत स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ गर्दा चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसीले छपाइ गर्ने निर्णय गरेको जनाएको थियो। ओलीले भने उक्त निर्णयको विरोध गरेका हुन्।
उनले राज्यका हरेक अंग अदालत, संसद, निर्वाचन आयोग एमालेविरुद्ध प्रयोग भइरहेको आरोप उनले लगाए। ‘सर्वोच्च अदालतको परमादेश, सभामुखको भूमिका तपाईंहरुले देखिराख्नुभएको छ,’ उनले भने।
ओलीले सत्तामा रहेका दलहरुलाई समृद्ध नेपाल सुखी नेपालीको नारा मन नपरेको धारणा राखे। उनले चुनावबाट सरकार बन्ने भए पनि अहिलेको सरकार परमादेशबाट बनेको भन्दै अदालतबाट मुद्दा जितेर सरकार बनाउने गलत नजिर बसेको बताए।
अध्यक्ष ओलीले अबको निर्वाचनपछि आफ्नो पार्टीको सरकार बन्ने दाबी गरे। आगामी निर्वाचनका लािग एमालेलाई सशोफ बनाउने अभियान चाल्न पनि उनले आग्रह गरे।











