Kathmandu Press

कांग्रेसको एक महिने चुनावी अभियान : दुई दिनअघि जिल्ला पुगिसक्न केन्द्रीय नेतालाई निर्देशन 

काँग्रेसले करिब–करिब राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर एमसीसी संसदबाट पारित भएको भन्दै त्यसबारे जनस्तरमा छरिएका भ्रमबारे प्रष्ट पार्न पनि अभियानमा संलग्न नेताहरुलाई निर्देशन दिएको छ । 
कांग्रेसको एक महिने चुनावी अभियान : दुई दिनअघि जिल्ला पुगिसक्न केन्द्रीय नेतालाई निर्देशन 

काठमाडौं, फागुन २४ : सत्तारुढ दल नेपाली कांग्रेस चुनावी अभियानमा लागेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहको निर्वाचनमा जुट्न निर्देशन दिएका छन्। 

नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिनका लागि आयोजित कार्यक्रममा कांग्रेसले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान’ सार्वजनिक गरेको छ। सभापति देउवाले यस अभियानलाई सफल बनाउनका लागि पार्टीका केन्द्रीय नेताहरुलाई ७७ वटै जिल्लामा खटिन निर्देशन दिएका छन्। 

फागुन २९ गतेदेखि चैत २९ सम्म सञ्चालन हुने अभियानका लागि आठ उद्धेश्य निर्धारण गरिएको छ। पहिलो उद्धेश्यमा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्दै निर्वाचनको माहोल बनाउने उल्लेख छ। 

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टी भित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धी गर्ने र कांग्रेस उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपील गर्न पनि नेता कार्यकर्ताहरुलाई आग्रह गरिएको छ। 

त्यस्तै ‘हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका जिम्मेवारी बाँडफाँड गरे पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालन तर्फ उन्मुख गराउने पनि अभियानको उद्धेश्य रहेको छ। 

प्रतिपक्षमा रहनु पर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि वाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनता समक्ष पुर्याउने पनि कांग्रेसको उद्धेश्य रहेको छ। तत्कालीन नेकपा नेतृत्वको सरकारले चालेको असंवैधानिक कदम र त्यसबाट सिर्जित राजनीतिक परिवेशका बारेमा पनि जनतलाई सुचित गराउँदै कांग्रेसको नेतृत्वमा सरकार बनेपछि भएका राम्रा राम्रा कामहरु जनतालाई अवगत गराउने भनिएको छ।

त्यसक्रममा काँग्रेसले करिब–करिब राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर एमसीसी संसदबाट पारित भएको भन्दै त्यसबारे जनस्तरमा छरिएका भ्रमबारे प्रष्ट पार्न पनि अभियानमा संलग्न नेताहरुलाई निर्देशन दिएको छ । 
 
अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने र उनीहरुलाई अभियान शुरु हुने २ दिन अगाडि नै  जिल्लामा पुग्न निर्देशन दिइएको छ । प्रतिनिधिहरुलाई  अभियान सुरु हुनुअघि र शुरु भएपश्चात  वडा तहको कार्यक्रमलाई प्रभावित बनाउन प्रेरित भूमिका निर्वाह गर्न सबै स्थानीय तहमा एक पटक अनिवार्य पुग्न निर्देशन दिइएको छ। 

अभियानका लागि प्रदेश देखि जिल्ला कार्यसमितिको भूमिका समेत निर्धारण गरिएको छ। 
 

प्रकाशित मिति: १५:५० बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्