Kathmandu Press

‘मेड इन नेपाल एक्स्पो–२०७६’ मेला शुक्रबारदेखि

काठमाडौं, असोज ८ : स्वदेशी वस्तु तथा सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने ‘मेड इन नेपाल एक्स्पो २०७६’ हुने भएको छ।

न....

‘मेड इन नेपाल एक्स्पो–२०७६’ मेला शुक्रबारदेखि

काठमाडौं, असोज ८ : स्वदेशी वस्तु तथा सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने ‘मेड इन नेपाल एक्स्पो २०७६’ हुने भएको छ।

नेपाली युवा उद्यमी मञ्चले आयोजना गर्न लागेको ७ औँ संस्करणको ‘मेड इन नेपाल एक्स्पो’ को तयारी पूरा भएको मञ्चले जनाएको छ। मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी असोज १० र ११ गते ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुन लागेको मेलाबारे विस्तृत जानकारी गराएको हो। 

मुलुकभित्र स्वदेशी उत्पादन तथा सेवाको विस्तार, लगानी प्रवद्र्धन तथा रोजगारी सिर्जनामा सहयोग पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागेको मञ्चका अध्यक्ष निकोलस पाण्डेले बताए। 

मञ्चले सन् २००६ देखि निरन्तर यस्तो मेला आयोजना गर्दै आइरहेको छ। ‘आफ्नो भन्या आफ्नै हो’ भन्ने नाराका साथ सुरु हुन लागेको प्रदर्शनीले सामाजिक जागरुकता र राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउने मञ्चले जनाएको छ।

भित्रिँदै गरेको चाडपर्वलाई लक्षित गरेर आयोजना गरिएको मेलामा विभिन्न साँस्कृतिक कार्यक्रम पनि हुँदैछ। त्यसैगरी, दशैंमा सपिङ गर्नलाई समेत सहयोग हुने गरी मेलामा सामग्री प्रदर्शनमा राखिने आयोजकले जनाएको छ। 

दशैंको सपिङ पनि गराउने र स्वदेशी उत्पादनबारेमा जानकारी दिन मेला उपयुक्त थलो भएको पाण्डेले बताए। 

यस पटकको मेलामा साना उद्यमीलाई पनि अवसर दिएको मञ्चले जनाएको छ। त्यसले साना व्यवसायबाट अगाडि बढेका उद्यमीलाई हौसला प्रदान गर्ने र रोजगारी सिर्जनामा सहयोग पुर्‍याउने अध्यक्ष पाण्डेले बताए। साना व्यवसायीलाई प्रवर्द्धन गर्न करिब १२ जना उद्यमीलाई निःशुल्क स्टलको व्यवस्था समेत गरिएको पाण्डेले बताए।

मेलामा श्रृङ्गार, कपडा, जुत्तालगायतका साना ठूला वस्तु तथा सेवाका ७० बढी स्टल रहने मञ्चले जनाएको छ। दुई दिन चल्ने एक्स्पोमा २० हजारभन्दा बढी व्यक्तिले अवलोकन गर्ने आयोजकको दाबी छ। नेपाली युवा उद्यमी मञ्च देशभरिका ४० वर्षमुनिका युवा उद्यमीहरुको साझा मञ्च हो। मञ्चका विभिन्न जिल्लामा ७ वटा शाखा रहेको छ।

प्रकाशित मिति: १८:३८ बजे, बुधबार, असोज ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्