Kathmandu Press

समान सहभागिताका लागि नीति र कानुन आवश्यक : मुख्यमन्त्री राई

माेरङ, फागुन २४ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई शिक्षाबाट वञ्चित गरेमा मुलुकको विकासमा बाधा पुग्ने बताएका छन्। राज्यले उनीहरुलाई समान...
समान सहभागिताका लागि नीति र कानुन आवश्यक : मुख्यमन्त्री राई

माेरङ, फागुन २४ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई शिक्षाबाट वञ्चित गरेमा मुलुकको विकासमा बाधा पुग्ने बताएका छन्। राज्यले उनीहरुलाई समान हक र समान सहभागिता दिलाउन आवश्यक नीति र कानुन बनाउनुपर्ने आवश्यकता औंल्याए।

सामाजिक विकास मन्त्रालयद्वारा ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले महिलाको समानुपातिक प्रतिनिधित्व थप हुनुपर्नेमा जोड दिँदै उनीहरुको सुझबुझ र श्रमबाट घरपरिवार, समाज र देशको चौतर्फी विकास हुने धारणा राखे। समाजमा भ्रूण हत्याजस्तो अवैध कार्य भइरहेकाले सबैले यस कार्यलाई अविलम्ब रोक्नुपर्नेमा उनले जोड दिए। 

स्वास्थ्यमन्त्री जयराम यादवले महिलाले आफ्नो अधिकार मागेर प्राप्त नभए खोसेर लिनुपर्ने बताए। उपसभामुख सरस्वती पोखरेलले महिलाको संघर्षबाट स्थानीय पालिकामा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित भएको चर्चा गर्दै छोरीलाई उच्च शिक्षा अध्ययन गर्नबाट वञ्चित गराउन नहुने धारणा राखे। सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले राज्यको प्रत्येक संरचनामा महिलाको ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए।
    
मोरङका प्रमुख जिल्ला अधिकारी कोशराज दाहालले महिलामाथि हुने विभेद अन्त्यका लागि ‘महिलामैत्री’ समाज निर्माणका लागि लाग्नुपर्ने आवश्यकता औंल्याए। मन्त्रालयका सचिव दीर्घराज मैनाली, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, गैरसरकारी महासंघका उपाध्यक्ष सीता शर्माले समाज र राष्ट्रको प्रगतिमा महिलाको महत्वपूर्ण भूमिका हुने बताए।
    
यसअघि देवकोटा चोकबाट सुरु भएको प्रभातफेरिले नगरको मुख्य मुख्य भाग परिक्रममा गरी आर्दश विद्यालयमा पुगी सभामा परिणत भएको थियो। यसैगरी आज आदर्श विद्यालको प्रांगणमा आयोजित खुला रक्तदानको स्वास्थ्यमन्त्री यादवले रक्तदान गरी  शुभारम्भ गरे।

मुख्यमन्त्री राई शुभकामना

यसैबीच मुख्यमन्त्री राईले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चतताको कामना गरेका छन्।
    
मुख्यमन्त्री राईले ‘सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चिता’ भन्ने नाराका साथ आज मनाउन लागिएको दिवसका अवसरमा संसारभरिका दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका हुन्।  
    
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलामाथि हुने सबै किसिमका भेद्भाव तथा हिंसा अन्त्य गरी सभ्य समाज निर्माण गर्न नवीनतम पहलका लागि हामी सबै एकजुट हौं भन्ने आह्वान गर्दै मुख्यमन्त्री राईले नेपालको संविधानले गरेको व्यवस्था र महिला अधिकारका सम्बन्धमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले व्यक्त गरेका प्रतिबद्धताहरू पूरा गर्न हौसला प्रदान गर्ने विश्वास व्यक्क्त गरेका छन्।

प्रकाशित मिति: १२:३३ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्