रौतहट कांग्रेसमा संस्थापन पक्षको बर्चस्व, सभापतिमा यादव विजयी
.jpg)
काठमाडौं, फागुन २४ : नेपाली कांग्रेस रौतहटको जिल्ला कार्यसमितिमा संस्थापन पक्षले बर्चस्व कायम गरेको छ। १४ औं महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न मतदानको परिणामअनुसार सभापति पदमा संस्थापन पक्षका सुनिलकुमार यादव विजयी भएका हुन्।
कोइराला पक्षका उम्मेदवार हृदयनारायण यादवलाई करिब तीन सय मतान्तरले पराजित गर्दै यादव सभापति चुनिएका हुन्। उनले १ हजार २६२ मत प्राप्त गर्दा हृदयनारायणले १ हजार ६४ मत पाए।
जिल्ला कार्यसमितिको पदाधिकारीमा पनि संस्थापन पक्ष हाबी देखिएको छ। सचिव बाहेक सबै पदाधिकारीमा देउवा पक्षका उम्मेदवार विजयी भएका छन्।
कार्यसमितिको उपसभापतिमा संस्थापन पक्षकै धिरेन्द्रकुमार सिंह र रामलोचन प्रसाद कलवार विजयी भएका छन्। त्यस्तै दुई सचिवमा देउवा पक्षका राजेशकुमार चौधरी र कोइराला पक्षका रामचन्द्र गिरी निर्वाचित भएका छन्। संस्थापन पक्षका सुृभाष कोइरालालाई १० मतले पराजित गर्दै गिरी सचिव निर्वाचित भएका हुन्।
त्यस्तै दुई सहसचिवमा संस्थापन पक्षकै मोहम्मद फिरोज आलम र सिकेन्द्रप्रसाद पटेल विजयी भएका छन्। सदस्यहरुको भने मतगणना जारी छ।











