Kathmandu Press

महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौं: राष्ट्रपति

काठमाडौं, फागुन २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा...
महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौं: राष्ट्रपति

काठमाडौं, फागुन २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन्।

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिइएको शुभकामना सन्देशमा उनले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताएकी छन्।

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गरेकी छन्र।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै सन्देशमा उनले नेपाली जनताको दशकौँ लामो राजनीतिक आन्दोलनको प्रतिफलस्वरूप महिला सशक्तीकरणको क्षेत्रमा  प्राप्त उपलब्धी विश्व महिला आन्दोलनका लागि प्रेरक मानिएका सन्देशमा उल्लेख गरेकी छन्।

‘महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानूनसमेत अभ्यासमा ल्याएका छौँ। फलतः मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको छ‚’ सन्देशमा भनिएको छ‚ ‘पछिल्लो समयमा लैङ्गिक समानताका विभिन्न सूचकहरूमा नेपालले प्रगति गर्दै आएको देखिएकाले हाम्रा प्रयासहरू परिणाममुखी हुने चरणमा छन् भन्न सकिन्छ। यसबाट नेपाली महिलाहरूको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ।’

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेको तथा त्यसको अभिप्राय महिलाहरूको आर्थिक, सामाजिक तथा संरचनात्मक रूपान्तरणद्वारा मुलुकको समृद्धि र दिगो विकासतर्फ अग्रसर रहनु भन्ने आफूलाई लागेको राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ। (रासस)

प्रकाशित मिति: ०६:५१ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्