साताव्यापी भ्रमणका लागि परराष्ट्रमन्त्री खड्का सोमबार टर्की जाँदै
काठमाडौं, फागुन २३ : परराष्ट्रमन्त्री डा. नारायण खड्का सोमबार साँझ टर्कीको साताव्यापी भ्रमणमा जाने भएका छन् ।टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा उनी तीन सदस्यीय प्रतिनिधिमण्डलको...
काठमाडौं, फागुन २३ : परराष्ट्रमन्त्री डा. नारायण खड्का सोमबार साँझ टर्कीको साताव्यापी भ्रमणमा जाने भएका छन् ।
टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा उनी तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । यही फागुन २७ देखि २९ गतेसम्म आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
उक्त कार्यक्रममा दक्षिण एशियालगायत विश्वका विभिन्न मुलुकका राजनीतिज्ञ, कूटनीतिज्ञ तथा नीति निर्माताहरू भेला भई विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ । नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशको सन्दर्भमा हुन लागेको परराष्ट्रमन्त्रीको यो भ्रमण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ तुल्याउन फलदायी हुने विश्वास गरिएको छ ।
भ्रमणबाट द्विपक्षीय व्यापार, लगानी, पर्यटन, वैदेशिक रोजगारी तथा जनस्तरको सम्बन्ध अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा पनि गरिएको छ ।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)