Kathmandu Press

निर्वाचनमा महिला : कोटाबाहेकमा पनि उम्मेदवारी दिनुपर्ने सुझाव

काठमाडौं फागुन २३ : पर्पल फाउन्डेसनले ‘महिलावाद र निर्वाचन प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।११२औं अन्तराष्ट्रिय महिलाको दिवसका सन्दर्भमा सोमबार कमलादीस्थित होटेल रोयल...
निर्वाचनमा महिला : कोटाबाहेकमा पनि उम्मेदवारी दिनुपर्ने सुझाव

काठमाडौं फागुन २३ : पर्पल फाउन्डेसनले ‘महिलावाद र निर्वाचन प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

११२औं अन्तराष्ट्रिय महिलाको दिवसका सन्दर्भमा सोमबार कमलादीस्थित होटेल रोयल सिंहमा आयोजित अन्तरक्रियामा महिलालाई निर्वाचनामा हुने समस्याबारे छलफल गरिएको थियो। 

महिला, बालबालिका, अपांगताबारे आवाज उठाउँदै आएको फाउन्डेसनले निर्वाचनमा महिला सहभागिता विषयमा चर्चा गरेको हो।

आगामी वैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागि महिला जनप्रतिनिधि उपस्थिति बढाउन सरकारलाई दबाब दिने उद्देश्यले सो कार्यक्रम गरिएको फाउन्डेसनकी अध्यक्ष निलम शर्माले बताइन्। ‘महिला जनप्रतिनिधिको निर्वाचनमा हुने समस्याको विषयमा सम्बन्धित निकायलाई झक्झकाउनु कार्यक्रमको उद्देश्य हो,’ उनले भनिन्।

कार्यक्रममा बोल्दै निर्वाचन आयोगका पूर्वआयुक्त भोजराज पोखरेल १५ वर्ष अगाडि र अहिलेको तुलनामा महिलाको सहभागिता बढेको अनुभव सुनाए। ‘महिला नेतृत्व भएको ठाउँमा कम भ्रष्टाचार भएको छ,’ उनले भने, ‘कानुनले बाध्य बनाएको भएर महिलाको सहभागिता बढ्यो, महिलाको सहभागिता बढाउन कानुनी बाध्यता नै चाहिने रहेछ।’ 

उनका अनुसार अहिले अधिकांश स्थानीय तहमा महिलाको सहभागिता उपप्रमुखका रूपमा रहेको छ । किनभने प्रमुख र उपप्रमुखमध्ये एकमा महिलाको सहभागिता अनिवार्य गरियो तर यही पद भनेरचाहिँ तोकिएन। त्यसैले महिलालाई सहभागिता पुर्‍याउन मात्रै राखिएको उनले बताए। महिलाको सहभागिता बढाउन निर्वाचनले भने नरोकेको उनको भनाइ थियो। 

निर्वाचन आयोगका पूर्वआयुक्त इला शर्मा पनि मतदानलाई महिलामैत्री बनाउनुपर्ने र समानुपातिकतर्फ मात्र नभई प्रत्यक्षतर्फ पनि महिलाको उम्मेदवारी बढाउनुपर्नेमा जोड दिइन्। ‘महिलाले भोट मात्र दिने होइन अब उम्मेदवारी पनि दिने हो’ भन्ने नारालाई कार्यान्वयनमा लानुपर्ने उनको भनाइ थियो। 

कार्यक्रममा २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जितेर उपप्रमुख बनेकाहरूले आफ्ना अनुभवसमेत सुनाए। बुढीनन्दा नगरपालिका बाजुराकी उपप्रमुख सृष्टि रेग्मीले महिलाले निर्वाचन जिते पनि सक्षम भएर भन्दा पनि कोटा पूरा गर्ने हिसाबले मात्र भएको जसरी व्यवहार हुने गरेको बताइन्।

घर र राजनीति दुवै जिम्मेवारी निर्वाह गर्नुपर्दा महिलालाई समस्या हुने गरेको उनको भनाइ थियो। चुनाव महँगो भएकाले पनि महिलाको संख्या बढ्न नसकेको अनुभव उनले सुनाइन्। ‘महिलाहरू राजनीति गर्छन् तर चुनाव लड्ने बेला लाग्ने खर्च जुटाउन सक्दैनन्,’ उनले भनिन्, ‘त्यसैले सक्षम महिला पनि नेतृत्वमा पुगेका छैनन्।’

पालुङटार नगरपालिका गोर्खाकी उपमेयर पम्फा बसेल, पोखरिया नगरपालिका पर्साकी उपमेयर सालमा खातुनले पनि महिला नेतृत्वमा आउन चाहे पनि दोहोरो भूमिकामा रहेकाले सक्रियता बढ्न नसकेको बताए। 
 

प्रकाशित मिति: १८:२९ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्