स्थानीय तहकाे निर्वाचनका लागि मतपत्र छपाइ गर्दा हरियो रङ प्रयाेग हुने

काठमाडाैं, फागुन २३ : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा चिन्हमा हरियो रङ प्रयाेग गरिने जानकारी दिएको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनका लागि मतपत्र छपाइ गर्दा चिन्ह, विवरण तथा सुरक्षण चिन्ह हरियो हुने जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले स्थानीय तहको निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिए। निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाका लागि अडियो भिडियो सामग्री तयारी गर्नको लागि निर्वाचन सम्बन्धी गीति सन्देश, संवादमुलक सन्देश तथा चलचित्र लघुकथा लेखन प्रतियोगिताका लागि प्रकाशित सार्वजनिक सूचना बमोजिम प्राप्त भएका रचनाहरुको मूल्यांकन भइरहेको जानकारी दिए।
त्यस्तै उनले निर्वाचनसम्बन्धी छपाइ सामग्री निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरु र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचीकृतका लागि सार्वजनिक सूचना जारी गरिएको पनि बताए।
त्यस्तै सरकारले आयोगसँग छलफल गरेर अन्यथा निर्णय गरे आवश्यकताअनुसार अन्य तयारी गर्न सकिने अर्यालले बताए।











