Kathmandu Press

गण्डकी प्रदेशका मुुख्यमन्त्रीबाट मटिहानीमा पूजाअर्चना

जनकपुर, फागुन २३ : मधेस प्रदेशको सद्भावना भ्रमणका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मटिहानीका धार्मिकस्थलको अवलोकन र पूजाअर्चना गरेका छन्। तीन दिने...
गण्डकी प्रदेशका मुुख्यमन्त्रीबाट मटिहानीमा पूजाअर्चना
मधेस प्रदेशको भ्रमणपछि सोमबार पोखरा फर्किएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पत्रकारसँग कुरा गर्दै । तस्बिर : रासस

जनकपुर, फागुन २३ : मधेस प्रदेशको सद्भावना भ्रमणका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मटिहानीका धार्मिकस्थलको अवलोकन र पूजाअर्चना गरेका छन्। 

तीन दिने भ्रमणको अन्तिम दिन आज मुख्यमन्त्री पोखरेलले मटिहानीस्थित श्री लक्ष्मीनारायण मन्दिरमा र रामायणकालीन लक्ष्मीसागर तलाउमा पूजाअर्चना गरेका हुन्। लक्ष्मीसागर तलाउ त्रेतायुगमा रामसीताको विवाहमा बेदी बनाउन माटो खनिएको पवित्र ठाउँ मानिन्छ।

पहिले श्री लक्ष्मीनारायण मन्दिर पुग्नुभएका पोखरेलले भगवान लक्ष्मीनारायणको पूजाआराधना गरे। त्यसअवसरमा मुलुकभरिकै मठहरुको नायक मठ श्री लक्ष्मीनारायण परिसरको अवलोकन पोखरेलले गरे। मुख्यमन्त्री पोखरेल लक्ष्मीसागर पुग्नुभई पवित्र तलाउको पूजा र आरतीमा सरिक भए।

त्यसअवसरमा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, मठका मानमहन्थ एवं साधुसन्त र उद्योगी व्यवसायीले मुख्यमन्त्री पोखरेलको हार्दिक स्वागत गरे।

मटिहानी भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल विक्रम संवत् १७७५ मा स्थापना भएको हालको राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन गर्दै त्यहाँ बटुकहरुले नियमित आयोजन गर्दै आएका अखण्ड रुद्राभिषेकमा सरिक भए।

भ्रमणका क्रममा उनले मटिहानीमा निर्मित अत्याधुनिक रंगशाला, अतिथिगृह, घण्टाघर र मटिहानी प्रवेशद्वारको अवलोकन गरेका छन्। मटिहानीस्थित नवनिर्मित रंगशाला गत मङ्सिर ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेका हुन्।

मुख्यमन्त्री पोखरेलसहितको भ्रमण टोलीका सदस्यलाई अतिथिगृहमा आयोजित एक समारोहबीच नगरप्रमुख मण्डलले हार्दिक स्वागत गर्दै दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरे। 

मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको निमन्त्रणामा शनिबार जनकपुर क्षेत्रको भ्रमणमा आएका पोखरेल आजै पोखरा फर्किएका छन्।

यसअघि पोखरेलले महोत्तरीको बर्दिबास नगरक्षेत्रका धार्मिकस्थलको भ्रमण गरेका थिए। भ्रमणका क्रममा मधेश प्रदेशको विकास प्रयत्नलाई नजिकबाट नियाल्न पाएको पोखरेलको भनाइ छ।

प्रकाशित मिति: १४:५३ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्