Kathmandu Press

माओवादी केन्द्रीय कमिटी बैठकमा महरासहित तीन नेताको ‘नोट अफ डिसेन्ट’

माओवादी केन्द्रीय कमिटी बैठकमा महरासहित तीन नेताको ‘नोट अफ डिसेन्ट’

काठमाडौं, फागृुुन २३ : नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अनुमोदन गरेकामा असहमति जनाउँदै तीन नेताले ‘नोट अफ डिसेन्ट’ राखेका छन्। 

पार्टीका प्रवक्ता कृष्णबहादुर महरा, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र नेता लिलामणी पोखरेलले एमसिसीमा असहमति जनाउँदै राखेका नोट अफ डिसेन्ट प्रचण्डले प्रस्तुत गरेका हुन्। 

तीन नेताको नोट अफ डिसेन्टमा एमसिसी अनुमोदन गर्ने विषयमा पार्टीभित्र कुनैपनि छलफल नभएको उल्लेख गरिएको छ।  खुमलटारमा अनौपचारिक बैठक भएका कारण नोट अफ डिसेन्ट बुझाउन नसकिएका कारण केन्द्रीय कमिटीको बैठकमा पेश गरेको बताएका छन्। 

एमसिसी राष्ट्रको हितमा नरहेको र अमेरिकी अधिकारीहरुले नै एमसिसी हिन्द प्रशान्त रणनीति अन्तर्गत रहेको बताएका कारण देशको हितमा नरहेका उल्लेख गरेका छन्। 

‘यस्तो सम्झौताबारे गहन छलफल र राष्ट्रिय सहमति बिना हतारमा सदनबाट वैधानिक मान्यता दिन अनुमोदन गरिनु झन् गम्भीर गल्ती भएको उनीहरूको भनाइ छ । ‘यस प्रकरणको रणनीतिक विषयमा सदनबाट अनुमोदन पूर्व केन्द्रीय समितिको बैठक बसी निर्णय गरिनुपर्थ्यो । त्यतिमात्र होइन, संसदमा प्रतिपक्षले ६ महिना पूर्वदेखि बैठक अवरुद्ध गरिरहेको अवस्थामा संसद्को बैठक सञ्चालनसम्बन्धी सामान्य प्रजातान्त्रिक विधिसम्म पनि अवलम्बन नगरी एक दिनमा रातारात नोकरशाही ढंगले अनुमोदन गरियो । अतः यी विषयहरूमा पार्टीमा गम्भीरताका साथ आत्मसमीक्षा गरियोस् भनी अनुरोध गर्दछौँ’, नोट अफ डिसेन्टमा भनिएको छ।

तीन नेताकाे संयुक्त नोट अफ डिसेन्टबारे स्थानीय निर्वाचनपछि छलफल गर्न प्रचण्डले प्रस्ताव गरेका छन्। 


 

प्रकाशित मिति: १४:०२ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्