माओवादीले केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन चुनावपछि
विवादका बीच निर्णय गर्दा त्यसको प्रत्यक्ष प्रभाव आगामी स्थानीय तहको निर्वाचनमा पर्ने भएका कारण पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोलाई थाती राखेर केन्द्रीय कमिटीलाई मात्र पूर्णता दिएर बैठक स्थागित गर्नेबारे छलफल भएको बताइएको छ।
काठमाडौं, फागुन २३ : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक जारी छ।
गौशालास्थित अनुपम फुडल्याण्डमा १२ बजेपछि मात्रै सुरु भएको बैठक अहिले जारी छ। आठौं महाधिवेनशनबाट चयन भएका केन्द्रीय कमिटीका सदस्यहरु बैठकमा उपस्थित छन्।
महाधिवेशन सकिएको दुई महिना भन्दा बढी समय बितिसक्दा पनि माओवादीले पदाधिकारीदेखि केन्द्रीय कमिटीलाई समेत पूर्णता दिन सकेको छैन। पदाधिकारी चयनमा विवाद उत्पन्न भएपछि यसपटकको बैठकबाट केन्द्रीय कमिटीलाई मात्र पूर्णता दिएर स्थगित गर्ने तयारी माओवादीको छ।
पछिल्लो समय विवादित एमसिसी संसदबाट अनुमोदन भएपछि माओवादी केन्द्रभित्र आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको छ। त्यसको साइड इफेक्ट पदाधिकारी चयनमा देखिएको छ। नेता नारायणकाजी श्रेष्ठ लगायतका प्रभावशाली नेताहरु एमसिसी पारित भएपछि प्रचण्डसँग रुष्ट बनेका थिए।
पार्टीभित्र पदाधिकारी चयनको विषयमा यसअघिकै विवादलाई एमसिसीले थप मलजल गरेको छ। विवादकै बीच पदाधिकारी चयन प्रकृयालाई अगाडि बढाइए थप लफडा हुनसक्ने आँकलन गरेका अध्यक्ष प्रचण्डले निर्वाचन पछि मात्रै पदाधिकारी र बाँकी कमिटीलाई पूर्णता दिने बारेमा बैठकमा छलफल गरेका छन्।
केन्द्रीय कमिटीलाई भने पूर्णता दिने गरी छलफल चलिरहेको माओवादी केन्द्रका एक केन्दीय सदस्यले जानकारी दिएका छन् । यसअघि बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई पुनः अध्यक्ष चयन गर्दै पदाधिकारी छान्ने जिम्मा अध्यक्षलाई दिएको थियो। त्यसयता प्रचण्डले पदाधिकारीमा सहमति जुटाउन नसकेपछि केन्द्रीय कमिटी बैठक पटकपटक सर्दै आएको छ।
यसपटक पदाधिकारीमा विवाद कायम भएका कारण विवादका बीच निर्णय गर्दा त्यसको प्रत्यक्ष प्रभाव आगामी स्थानीय तहको निर्वाचनमा पर्ने भएका कारण पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोलाई थाती राखेर केन्द्रीय कमिटीलाई मात्र पूर्णता दिएर बैठक स्थागित गर्नेबारे छलफल भएको बताइएको छ।











