कांग्रेस सप्तरीको निर्वाचन मंगलबार हुने
सप्तरी, फागुन २३ : नेपाली कांग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन मंगलबार हुने भएको छ। निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै...
सप्तरी, फागुन २३ : नेपाली कांग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन मंगलबार हुने भएको छ। निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मंगलबार गरिने निर्णय भएको छ।
आज (शनिबार) विवादबीच स्थगित भएको उक्त निर्वाचन मंगलबार गरिने कांग्रेसले जनाएको छ। यसअघि निर्वाचन समितिले निर्वाचनस्थलमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै शनिबार दिउँसो ४ बजेतिर विवाद उत्पन्न भएपछि स्थगित भएको थियो।
पटकपटक समय परिवर्तन गर्दै शनिबारका लागि तय भएको जिल्ला अधिवेशन बिहान ८ बजेदेखि हुने भनिएको निर्वाचन १० बजेदेखि मात्र सुरु भएको थियो।
रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचनस्थलमा एउटै व्यक्तिले पटकपटक मतदाताको सहयोगी बनेको भन्दै विवाद उत्पन्न भएको थियो।
नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएका छन्।











