Kathmandu Press

टिकट र भिसाबिनै जहाजसम्म मानिस पुगेकोबारे समितिले बुझायो गृहमन्त्री खाणलाई प्रतिवेदन

काठमाडौ, फागुन २२ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पासपोर्ट र भिसा नभएको एक व्यक्ति पुगेको घटनाको...
टिकट र भिसाबिनै जहाजसम्म मानिस पुगेकोबारे समितिले बुझायो गृहमन्त्री खाणलाई प्रतिवेदन

काठमाडौ, फागुन २२ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पासपोर्ट र भिसा नभएको एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले गृह मन्त्रालयमा प्रतिवेदन गृहमन्त्री खाण समक्ष बुझाएका हुन् । गृहमन्त्रीस्तरीय निर्णयबाट फागुन १३ गते समिति गठन भएको विमानस्थल सुरक्षा अवस्था तथा सुधारका उपायहरू सम्बन्धमा सिफारिस गर्न भन्दै समिति गठन भएको थियो । 

समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक बेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप–अनुसन्धान निर्देशक विष्णमणि आचार्य, हवाई सुरक्षा निर्देशक बासुदेव भट्टराई, नेपाल बायु सेवा निगमका निर्देशक अनिल घिमिरे, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल तथा गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य थिए । समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताए  ।

‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विभिन्न निकायको तालमेल हुन्छ । तसर्थ कार्यान्वयनका लागि पनि सबै निकायको तालमेल चाहिन्छ,’ गृहमन्त्री खाणले भने, ‘सबैसँगको तालमेलमा रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढ्छ ।’

उनले विमानस्थलभित्र नागरिक छिरेर जहाजमै पुग्नु संवेदनशील भएको भन्दै त्यो  घटना कसरी भएको हो ? कसको कमजोरीले भएको हो ? पर्यटन, अर्थसहितको सल्लाहमा दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने गृहमन्त्री खाणले बताए ।

कोभिड–१९ को प्रकोप घटेको र व्यवस्थापन गर्न सरकार सफल भएको भन्दै अब अझै पर्यटकको आगमन बढ्ने भन्दै गृहमन्त्री खाणले जति आगमन बढ्यो, त्यति सुरक्षा संवेदनशीलता बढ्ने भन्दै सचेत रहन सम्बन्धीत निकाय चनाखो रहनुपर्ने बताए ।

राष्ट्रको सुरक्षा सबैको मुल दायित्व भएको भन्दै अझ अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा झनै सम्वेदनशील भएको बताए । प्रतिवेदन बुझाउँदै अध्यागमन विभागका महानिर्देशक तथा समितिका संयोजक भट्टराईले आफूहरूले प्रहरी प्रतिवेदन, अभियुक्तलाई विमानस्थलमै पुर्‍याएर लिएको जानकारी तथा सिसिटिभी फुटेजका आधारमा प्रतिवेदन तयार पारिएको जानकारी दिए ।

फागुन ९ गते राति हवाइजहाजको टिकट र भिसा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर जहाजसम्म पुगेपछि सुरक्षाबारे चुनौती थपिएको चर्चा भएको थियो । 
 

प्रकाशित मिति: १९:३८ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्