Kathmandu Press

गृहमन्त्री खाणसँग महिला सांसदहरुको भेटवार्ता, महिलाका विषयहरु सम्बोधन गर्न माग 

गृहमन्त्री खाणसँग महिला सांसदहरुको भेटवार्ता, महिलाका विषयहरु सम्बोधन गर्न माग 

काठमाडौं, फागुन २२ : महिला सांसदहरुले गृहमन्त्री बालकृष्ण खाणसँग महिलाका विभिन्न विषय सम्बोधन गरिदिन आग्रह गरेका छन् ।

पूर्वमन्त्री एवं नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सांसदहरू रंगमती शाही, बिन्दा पाण्डे, विमला राई पौडेल र विना श्रेष्ठले गृह मन्त्रालयमा आइतबार मन्त्री खाणलाई भेटी नागरिकता, भिजिट भिसासम्बन्धी रिपोर्ट लगायतका विषयमा माग राख्दै सम्बोधन गरिदिन आग्रह गरेका हुन् ।

एमाले सांसद पाण्डेले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाको समितिबाट संसद्मा गइसकेकाले पारित गर्ने अबस्था निर्माण गर्न आग्रह गरिन् । वैवाहिक अंगिकृतबाहेकका विषयमा सहमति बनेकाले पास गरेर कानुन बनाउँदा उपयुक्त हुने उनको भनाइ थियो ।

नागरिकतासम्बन्धी विषयले उमेर पुगेकाहरू पनि बैंक खाता खोल्न, पढ्न विद्यालयमा भर्ना गर्न र रोजगारीका लागि आवेदन दिन पनि समस्या भएको उनीहरुको गुनासो थियो ।

त्यस्तै भिजिट भिसा र सोबाट सृजित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदनमा संविधानसँग बाझिने विषयबस्तु समेटिएको भन्दै सच्याउन पनि आग्रह गरे । पल शाह बलत्कार प्रकरणमा पीडित बालिकामाथि बढी प्रहार गर्ने काम भएको भन्दै रोक्न पहल गरिदिन पनि उनीहरूले माग गरे ।

यस्तै महिलाको मौलिक हक समेटिएको संविधानको धारा–३८ अनुरुप समावेशी र समानुपातिक आधारमा स्थानीय तह निर्वाचनमा कम्तिमा ५० प्रतिशत उम्मेद्वारी दिने व्यवस्था दलहरूबाट हुनुपर्ने पनि उनीहरूको भनाइ थियो ।

महिला माननीयहरूले स्थानीय तह निर्वाचनमा ५० प्रतिशत महिला उम्मेद्वार उठाउनु पर्ने, म्यादी प्रहरी र निर्वाचन गर्ने कर्मचारी पनि ५० प्रतिशत खटाउन माग समेत गरे ।

गृहमन्त्री खाणले महिला सांसदहरुले उठाएका विषयमा सरकारको ध्यानाकर्षण भएको भन्दै उचित पहल गर्ने प्रतिवद्वता जनाए । 

प्रकाशित मिति: १९:२६ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्