क्यानभासमा इतिहास र संस्कृति
काठमाडौं, असोज ८ : प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत यात्रामा त्यहाँकी प्रख्यात सुन्दरी लाउरा बेलको लागि त्यसबेला अडाई लाख पाउण्ड स्टर....

काठमाडौं, असोज ८ : प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत यात्रामा त्यहाँकी प्रख्यात सुन्दरी लाउरा बेलको लागि त्यसबेला अडाई लाख पाउण्ड स्टर्लिङ खर्च गरेको भन्ने इतिहासमा भेटिन्छ।
लाउरासँगको जंगबहादुरको रोमान्सको तस्बिर त प्रविधिको विकास नभएको त्यसबेला कसले खिच्न सक्थ्यो र? तर, त्यो तस्विरको परिकल्पना गरी चित्र बनाएका छन्– प्रसिद्ध चित्रकार हरिप्रसाद शर्माले। त्यो चित्र अहिले बबरमहलस्थित आर्ट काउन्सिलको भित्तामा छ– प्रदर्शनीमा । उक्त ‘रोमान्स’ चित्रमा देखाएका छन्।
८२ वर्षीय चित्रकार हरिप्रसाद शर्मा । उनले इतिहासलाई चित्रमा उतार्दैआएका छन् । विगत २५ वर्षमा कोरेका उनका ऐतिहासिक चित्रहरू प्रदर्शनीमा राखिएको उनका छोरा एवम् सिर्जनाका सहयोगी विष्णु शर्माले जानकारी दिए।
काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल तलेजु भवानीसँग पासा खेल्दै गरेको क्षण होस् वा सम्राट अशोक लुम्विनी आउँदा त्यहाँको दृश्य अथवा प्रताप मल्लले स्वयम्भूमा बज्रदान गर्दा गरेको यज्ञ, ती सबैको परिकल्पना गरी चित्रमा प्रस्तुत गरेका छन् शर्माले।
भदौ २० गतेदेखि सुरु भएको उक्त प्रदर्शनी असोज ९ गतेसम्म चल्ने पनि कलाकारका सुपुत्र शर्माले जानकारी दिए । प्रदर्शनीमा शर्माले बनाएका ४५ वटा तस्बिरहरु राखिएका छन्।
काठमाडौंका रैथाने हुन, चित्रकार शर्मा । हाल चावहिलको मैजुबहालमा बस्दै आएका छन् । उतका चित्र इतिहास, समाज र संस्कृतिका विषयमा हुन्छन्।
वर्षौं लगाएर अध्ययन गर्छन् । अध्ययनमा हरिप्रसादलाई उनका सुपुत्र विष्णुले साथ दिन्छन् । अर्थशास्त्रका विद्यार्थी भएर पनि विष्णुले पिताजीलाई सघाउन इतिहास र संस्कृतिको स्वध्ययन गरे । पिताको कलामा सघाए।
विसं १८२५ को भदौ २६ गते अर्थात् इन्द्रजात्राको दिन । त्यसबेलाको कान्तिपुर राज्य जितेपछि पृथ्वीनारायण शाहले जीवितदेवी कुमारीको गोडा ढोगे।
उनको हातबाट टीका लगाए । कान्पिुरे मल्ल राजाको संस्कृतिलाई ग्रहण गरेका थिए । त्यसको साढे दुई सय वर्षपछि उक्त दृष्यलाई शर्माले कुचीमार्फत क्यानभासमा उतारे । शर्माका चित्र यस्ता छन्, इतिहास पढेकाहरूले आफू त्यही समारोहमा सहभागी भएजस्तो महसुस गर्छन्।












