एमबीबीएस र बीडीएसमा भर्ना नलिने निजी मेडिकल कलेजकाे धम्की
काठमाडौं, असोज ८ : निजी मेडिकल कलेजले आगामी शैक्षिक सत्रका लागि एमबीबीएस र बीडीएसमा भर्ना नलिने चेतावनी दिएका छन्। सरकारले मेडिकल कलेजलाई अन्याय गरेको....

काठमाडौं, असोज ८ : निजी मेडिकल कलेजले आगामी शैक्षिक सत्रका लागि एमबीबीएस र बीडीएसमा भर्ना नलिने चेतावनी दिएका छन्। सरकारले मेडिकल कलेजलाई अन्याय गरेको भन्दै निजी मेडिकल कलेजका सञ्चालकहरूले आपत्ति जनाएका छन्।
निजी मेडिकल कलेजहरूको संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले विज्ञप्ति जारी गरि शैक्षिक सत्र २०७६/७७ मा एमबीबीएस र बीडीएसमा भर्ना नलिने जनाएको छ।
स्वास्थ्य सेवा र चिकित्सा शिक्षालाई सहज र गुणस्तरीय बनाउने प्रयास गर्दै कानुन सम्मत खुले पनि अहिले मेडिकल कलेजमाथि अपमानजनक तरिकाले चौतर्फी आक्रमण भइरहेको उनीहरुको भनाइ छ। जसले गर्दा आगामी शैक्षिक सत्रका लागि भर्ना नलिने उनीहरूले विज्ञप्तिमार्फत जनाएका छन्।
एसोसिएसनका अध्यक्ष वसुरुद्दिन अन्सारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बिगतका केहि वर्षदेखि सरकारबाटै निजी मेडिकल कलेजहरू बन्द हुने अवस्थामा पुर्याउने गरी निर्णय भइरहेको छ, सरकारले निजी मेडिकल कलेजहरुलाई बन्द गराउने उद्देश्य राखी सिट संख्या, शुल्क निर्धारण, विदेशी विद्यार्थीको भर्नासम्बन्धी स्पष्ट नीति नै ल्याएको छैन।’
चिकित्सा शिक्षा ऐनले निर्दिष्ट गरेअनुसार शिक्षण संस्था शुल्क निर्धारण नगरी तथा विदेशी विद्यार्थी भर्ना सम्बन्धमा स्पष्ट प्रक्रिया नतोकी विश्वविद्यालयले प्रवेश परीक्षा सञ्चालन गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
यसबाट सिर्जित विकराल अवस्थाको जवाफदेहिता नेपाल सरकार, सम्बन्धित विश्वविद्यालय र डीनको कार्यालय हुने एसोसिएसनको भनाइ छ। यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ज्ञापनपत्र बुझाएको जनाएको छ।
निजी मेडिकल कलेजले चर्को शुल्क असुलेको भन्दै विद्यार्थी पनि आन्दोलनमा छन्। गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज, किष्ट मेडिकल कलेजलगायतले बढी शुल्क असुली गरेको, परीक्षामा उपस्थिति हुन रोकेको भन्दै विद्यार्थी आन्दोलन गरिरहेका छन्।
गृह र शिक्षा मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क फिर्ता गर्न निजी मेडिकल कलेजलाई निर्देशन दिएको छ। एक महिनाभित्र बढी शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने चेतावनी दिएको छ।











-(86)-1764936079.jpg)
