विष्णु भण्डारीको ‘सुनको पहाड’ सार्वजनिक
काठमाडौं, असोज ७ : आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ।
राजधानीको अनामनगरस्थित मण्डला थिएटरम....

काठमाडौं, असोज ७ : आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ।
राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित समारोहमा नेकपा नेता राम कार्की, लेखक डा.अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले उपन्यास संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।
कार्यक्रममा बोल्दै नेकपा नेता एवं पूर्वमन्त्री राम कार्कीले भण्डारीको उपन्यासले जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नु परेको पीडालाई प्रस्तुत गरेको बताए। उनले उपन्यासको सबैभन्दा बलियो पक्ष भनेको भाषाशैली भएको बताउँदै उपन्यासमा प्रौढ र खारिएको भाषा आएको बताए।
कार्यक्रममा बोल्दै लेखक डा.थापाले अहिलेको समयमा वेवास्तामा परिरहेको जनयुद्धको अभिघातको जटिल पक्षलाई लेखनमा मिहीन ढंगले उतारेको बताइन् । समकालीन नेपाली समाजको यथार्थलाई स्वैरकल्पना, दन्त्यकथा र यथार्थको मिश्रणबाट प्रष्ट्याउन उपन्यास सफल भएको बताइन्।
कार्यक्रममा बोल्दै जनयुद्धका क्रममा बेपत्ता पारिएको विपीन भण्डारीका बुबा एकराज भण्डारीले उपन्यासमा आफूलाई धेरै ठाउँमा पाएको बताए। ‘यसका पात्रहरूमा मैले आफूलाई पाएँ। छोरा र उसका साथीहरूलाई पाएँ र छोरालाई बेपत्ता पार्ने व्यक्तिहरूको सादृश्य वर्णन पाएँ,’ उनले भने।
पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो। तीन सय पृष्ठको उपन्यासको मूल्य तीन सय ९५ रुपैयाँ रहेको छ।












