व्यवसायीमैत्री भएर काम गर्न विमानस्थल कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौं, असोज ८ : अर्थमन्त्री डा.युवराज खतिवडाले राजस्व प्रशासनमा पारदर्शीता अपनाएर काम गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका कर्मचारीला....

काठमाडौं, असोज ८ : अर्थमन्त्री डा.युवराज खतिवडाले राजस्व प्रशासनमा पारदर्शीता अपनाएर काम गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन।
बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायीमैत्री भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन्।
उनले विमानस्थल विदेशी पाहुनाको लागि पहिलो प्रभाव पर्ने स्थल भएकाले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी रुपमा तयारी गर्न नागरिक उडड्यन विभागसँग समेत पयाप्त सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।
विमानस्थलमा अन्य निकायको समेत समन्वय हुने भएकाले प्रभावकारी, छिटोछरितो र सहज रुपमा सेवा दिनुपर्नेमा सम्बन्धित सबै निकायलाई निर्देशन दिए।
मन्त्री खतिवडाले विमानस्थलमा भौतिक पूर्वाधारको समस्यालाई नागरिक उडड्यन प्राधिकरणसँग सहकार्य गरेर व्यवस्थापन गरिने स्पष्ट पारेका छन्। उनले भन्सारमा रहेका मालबस्तु तथा सामानको समयमै निकासी तथा लिलामी गरि काम नलाग्नेलाई स्टलमा नराखी खाली गर्नु पर्ने बताए।
तोकिएको राजस्व पूरा गर्न सबै प्रकारका प्रयासहरु गर्ने, आवश्यक जनशक्तिको व्यवस्थापनमा अर्थ मन्त्रालय र भन्सार विभागले ध्यान दिनुपर्ने मन्त्री खतिवाडको भनाई थियो।
निर्यात हुने मालवस्तुलाई प्राथमिकता दिनुपर्ने भन्दै जाँचपास प्रक्रियालाई सरल, छिटो र चुस्तदुरुस्त बनाई विवेकपूर्वक नीतिगत रुपमा स्वच्छ सेवा दिन सुरक्षा निकाय, अध्यागमन, प्राधिकरण भन्सारलगायतको उत्तिकै सहकार्य तथा सहयोग आवश्यक पर्ने उनले बताए।
स्थलगत निरीक्षणमा भन्सार विभागका महानिर्देशक सुमन दाहाल, अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख झक्कप्रसाद आचार्य, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थका सुरक्षा प्रमुखलगायतको सहभागिता थियो।










-1754206481.jpg)
